कोहलपुर–१२ को एक सय दिन: कालोपत्रेदेखि भूमिहीनको नामावली संकलनसम्म



?????????????????????????????????????????????????????????

कोहलपुर ।

कोहलपुर नगरपालिका– १२ ले एक सय दिनमा गरेका मुख्य उपलब्धी सार्वजनिक गरेको छ । एक सय दिनमा आफुले गरेका उपलब्धी सार्वजनिक गर्दै नगरपालिकाको एकमात्र पहिलो वडा बनेको हो । वडाले एक सय दिनको अवधिमा १८ वटा उपलब्धी सार्वजनिक गरेको छ । सडक कालोपत्रेदेखि भूमिहीन, सुकुम्बासीहरुको नामावली संकलन गर्नेसम्म उपलब्धीमा रहेका छन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित वडा जनप्रतिनिधिहरुले जेठ २५ गतेबाट काम थालेका थिए । सय दिने उपलब्धीहरुमा वडाको नियमित बैठक बस्ने गरिएको, रामजानकी मन्दिरको उत्तर पट्टि रिंगरोडमा दुवै पट्टिको नाली अमेरिका चौधरीको घरसम्म सफा गरिएको उल्लेख गरिएको छ । दिप ज्योति स्कुल अगाडीदेखि प्रहरी बिटसम्मको पूर्व पट्टिको नाली सफा गर्ने, शान्ति खत्रीको घर अगाडी चोकमा २ वटा होमपाइप र माटो पटान गर्ने काम भएको वडाअध्यक्ष वीरेन्द्रकुमार शाहले जानकारी दिए ।

वडा कार्यालयको हाता भित्र पूर्व पट्टि र पश्चिम पट्टि दुवैतिर नालीमा ह्युमपाइप राखि बाटो निर्माण गरिएको उनले बताए । दाउना नयाँ बाटोमा बनेको कल्भर्टको दुवै किनारामा पर्खाल लगाउने कार्य गरिएको वडाध्यक्ष शाहले जानकारी दिए । ‘वडाको विनियोजित बजेटबाट विभिन्न योजनाहरु छनोट गरि स्वीकृतिका लागि नगर सभामा पेस गरिएको थियो’ उनले भने, ‘उक्त योजनाहरु नगर सभाबाट पारित भइसकेका छन् ।’ आर्थिक वर्ष २०७९/०८० का लागि वडा विकास गर्न प्रदेश र संघ तथा नगरपालिकालाई योजना माग गरिएको छ । प्रदेश सहरी विकास मन्त्रालयबाट टेन्डर भएको योजनाको हालसम्म पनि काम नभएको हुदाँ उक्त योजनाको काम गराइ १७० मिटर बाटो कालोपत्रे (पीच) गरिएको उनले बताए ।

विपद् व्यवस्थापनबाट आएको एक लाख रुपैयाँ वडामा आइपर्ने विभिन्न स्थानमा बाढी पहिरो र डुवानमा पर्ने क्षेत्रहरुमा बन्द भएका नाली सरसफाई गर्ने, ह्युमपाइप राख्ने र बाटो ग्राबेल गर्ने कार्यमा खर्च गर्ने निर्णय गरिएको उनले जानकारी दिए । यो अवधिमा बृहत वडा विकासका लागि टोल विकास संस्था गठन गरिएको छ ।

वडामा रहेका भूमिहीन सुकुम्बासीहरुको नामावली संकलन गरि भूमी सुधार तथा मालपोत कार्यालयलाई पठाइएको छ । चालू आवमा योजनाहरुको उपभोक्ता समिति गठन गरि नगर कार्यपालिकालाई पठाइ खाता सञ्चालन तथा योजना सम्झौताको लागि जानकारी गराइसकिएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमबार