लागुऔषध ब्राउनसुगरको कारोबारस्थलमा छापाः श्रीमानश्रीमती सहित तीन पक्राउ



बाँके ।

लागुऔषधको कारोबारमा संग्लन रहेको आरोपमा कोहलपुर प्रहरीले श्रीमान्श्रीमतीसहित तीनजनालाई पक्राउ गरेको छ ।

कोहलपुर–१२ चप्परगौडीमा रहेको लागुऔषध ब्राउनसुगरको डिलरमा शनिबार छापा मारेर प्रहरीले तीन कारोबारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा श्रीमान्श्रीमतीसमेत रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगर, तराजु र नगदसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा कोहलपुर–१२ चप्परगौडीका ३८ यसोदा कार्की, उनका श्रीमान् रुद्रबहादुर कार्की र सोही ठाउँका २४ वर्षीय मनोज गिरी रहेको डिएसपी मल्लले जानकारी दिए ।

लागुऔषध ब्राउनसुगरको कारोबार हुने गरेको सूचनाको आधारमा कोहलपुर प्रहरीको बिशेष टोली उनीहरुसम्म पुगेको थियो । ‘उनीहरुले लागुऔषधको कारोबार गर्ने सूचना हामीकहाँ आएको थियो,’ डिएसपी मल्लले भने, ‘त्यही सूचनाको आधारमा छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित कारोबारीलाई नियन्त्रणमा लिन सफल भएका हौं ।’

उनीहरुको साथबाट प्रहरीले २६ ग्राम चार सय मिलिग्राम ब्राउनसुगर, एक थान लागुऔषध तौल गर्न मिल्ने तराजु र पाँच लाख ७३ हजार आठ सय १० रुपैयाँसमेत बरामद गरेको थियो । भारतीय क्षेत्रबाट लागुऔषध ब्राउनसुगर ल्याएर उनीहरुले यहाँका प्रयोगकर्तालाई बिक्रीवितरण गर्ने गरेको प्रहरीले बताएको छ ।

पछिल्लो समय कोहलपुर प्रहरीले यस क्षेत्रमा रहेका विभिन्न लागुऔषध ब्राउनसुगरका डिलरहरुमा छापा मारिरहेको छ । केही दिनअघि मात्र कोहलपुर दशविगामा रहेको एक लागुऔषधको डिलरमा समेत कोहलपुर प्रहरीले छापा मारेर एकजनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतबार