‘मेलमिलापले फाटेका मन सिलाउँछ’



कोहलपुर ।

मेलमिलाप न्याय निरुपणको उपयुक्त विकल्प भएको सरोकारवालाले जोड दिएका छन् । कुनै पनि विषय र विवाद न्यायिक निकायमा जादाँ वा फैसला हुँदा पीडित वा पीडक एकपक्ष सन्तुष्ट हुने अवस्था नरहने भन्दै मेलमिलाप मै उपयुक्त रहेको उनीहरुको भनाइ छ ।
त्यसैले संविधानले समेत स्थानीय तहमा न्यायिक समितिमार्फत मेलमिलापको नीति लिएको उनीहरुको भनाइ छ ।

शनिबार कोहलपुरमा आयोजित मेलमिलापकर्ताहरुलाई पुनतार्जगी तालिमको अवसरमा बोल्दै बाँके जिल्ला अदालतका न्यायाधीश धनसिंह महराले मेलमिलाप फाटेका मनहरुलाई मिलाउने उपयुक्त विकल्प भएको बताए । विवाद समाधानको उपयुक्त माध्यम रहेकोमा उनले जोड दिए । अहिले पनि नागरिक अदालतको निर्णयमा निर्भर रहने अवस्था रहेको उनको भनाइ छ । ‘फैसलाले इन्साफ नगर्न सक्छ । फाटेका मन नमिलाउन सक्छ । मेलमिलाप उपयुक्त माध्यम हो । त्यसैले मेलमिलापलाई जोड दिइएको हो,’ न्यायाधीश महराले भने ।

तालिमको उद्देश्यमाथि प्रकाश पार्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले नगरपालिकामा कार्यरत सूचिकृत मेलमिलापकर्ताहरुसँग जनप्रतिनिधिको परिचय गर्ने र पहिला सिकेका कुरा पुनर्ताजगी गराउने गराउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् । यस्तै न्यायिक समितिले गर्ने काम र कानुनी व्यवस्थाका विषयमा पनि जानकारी दिने तालिमको ध्येय रहेको उनले बताइन् । उनका अनुसार न्यायिक समितिको काम कर्तव्य र अधिकारको विषयमा समेत जानकारी गराउने उद्देश्य हो ।

‘हामी निर्वाचित भएको तीन महिना भयो । मेलमिलापकर्ताहरुसँग बस्न पाएका थिएनौँ । उहाँहरुका कामको अनुभव सुन्ने अवसरसमेत भयो । नगरपालिकामा मेलमिलापलाई प्राथमिकतामा राखेका छौँ,’ न्यायिक समितिकी संयोजकसमेत रहेकी सुवेदीले भनिन् । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले मेलमिलापका माध्यमबाट शान्त र मर्यादित समाज बनाउन सकिने बताए ।

उनका अनुसार सूचिकृत मेलमिलापकर्ताहरुको माध्यमबाट समाज रुपान्तरणमा महŒवपूर्ण सहयोग पुगिरहेको छ । उनले भने, ‘मलाई यो तालिम विज्ञ सम्मलेन जस्तो लागेको छ । यो समस्या समाधानका लागि महŒवपूर्ण हुनेछ । तपाईँहरुका अनुभव साटफेट गर्ने र सिक्ने माध्यमसमेत हो ।’

तालिममा सिकेका कुरामा समुदायस्तरमा गएर व्यवहारिकरुपमा लागु गर्न उनले सम्पूर्ण मेलमिलापकर्ताहरुलाई आग्रह गरेका छन् । उक्त अवसरमा स्वागत मन्तव्य सविता चौधरीले राखेकी थिइन् । तालिममा मेलमिलापका विषयमा न्यायाधीश महरासहित अधिवक्ताहरु कर्ण केसी, पूर्ण श्रेष्ठ र सूर्य ज्ञवालीलगायतले प्रशिक्षण दिएका थिए । तालिममा १५ वटै वडाका प्रत्येक वडाबाट चारजना मेलमिलापकर्ताहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतबार