हवल्दारपुरमा आँखा र कान शिविर सम्पन्न



बाँके ।

कोहलपुर नगरपालिका–१४ को हवल्दारपुरमा शुक्रबार आँखा र कान शिविर सम्पन्न भएको छ । भिजन आँखा अस्पताल र ब्रिनोज कान अस्पताल नेपालगन्जको सहयोग तथा समाज सेवा संस्था नेपालको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।

शिविरमा दुई सय ५२ जनाको आँखा र कान जाँच गरिएको आयोजक समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले जानकारी दिए । ‘स्थानीयलाई लक्षित गरेर हामीले आँखा र कान शिविर गरेका हौऔँ,’ उनले भने, ‘प्रतिकूल मौसमका कारण पनि शिविरमा स्थानीयको उल्लेखनीय सहभागिता रह्यो ।’

शिविरमा जाँच गरिएकामध्ये २७ जनाको आँखाको अप्रेसन गर्नुपर्ने देखिएको संस्थाका अध्यक्ष थापाले मिसन टुडेलाई जानकारी दिए । पाँचजनाको भने कानको अप्रेसन गर्नुपर्ने देखिएको उनले बताए । समयमै परीक्षण नगराउँदा मानिसहरुमा आँखासम्बन्धी समस्या धेरै देखिएको भिजन आँखा अस्पतालका सञ्चालक प्रचण्ड गौतमले जानकारी दिए ।

‘सामान्य समस्या आउँदा उपचार नहुँदा ठूलोरुपमा लिएको देखिन्छ,’ उनले भने, ‘यहाँबाट रिफर गरिएकाहरुलाई हामीले ५० प्रतिशत छुटमा अस्पतालमा उपचार गर्नेछौं ।’ शिविरमा निःशुल्करुपमा बिरामीहरुलाई औषधि वितरण गरिएको थियो । शिविरमा भिजन आँखा अस्पताल र ब्रिनोज कान अस्पताल नेपालगन्जका चिकित्सकहरु खटिएका थिए ।

संस्थाका अध्यक्ष थापाले कोहलपुर नगरपालिका १५ वटै वडामा शिविर सञ्चालन गरिने जानकारी दिए । ‘शुक्रबार गरिएको शिविर सुरुवात मात्र हो । यसलाई हामीले सबै वडामा पु¥याउँछौं,’ उनले भने, ‘दसैं अगाडि अन्य केही वडामा समेत शिविर गर्नेछौं ।’

  • No tags available
प्रकाशित मिति : २०७९ असोज १ गते शनिबार