कोहलपुर ।
तीन प्रदेशको ट्राजिन्ट प्वाइन्टको रुपमा रहेको कोहलपुरको बृहत्तर विकासका लागि व्यवसायीको भूमिका महŒवपूर्ण रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । स्थानीय सरकारले लिएका नीति तथा कार्यक्रम, योजना सञ्चालन र सम्पन्न गर्न व्यवसायीहरुको भूमिका अहम रहेको सरोकारवालाहरुले बताएका हुन् ।
बुधबार कोहलपुर हार्डवेयर संघ बाँकेद्वारा आयोजित कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरको बृहत्तर विकासमा व्यवसायीको पनि योगदान रहेको बताए । प्रमुख आचार्यका अनुसार कोहलपुर नगरपालिकाले स्थानीय सरकार, निजी साझेदारीको अवधारणा लिएको भन्दै निजी क्षेत्रसँग मिलेर काम गरिरहेको छ ।
आगामी दिनमा पनि समृद्ध कोहलपुरका लागि व्यवसायीहरुको सहयोग र सहकार्य आवश्यक रहेको उनले बताए । उनले सम्पूर्ण नगरवासीहरुको सहयोगमा कोहलपुर बृहत् विकास र समृद्धिको गोरेटो बनाउनुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीले विकास र समृद्धिका लागि स्थानीय सरकार र व्यवसायीको सम्बन्ध मजबुत हुनुपर्ने बताए । उनले कोहलपुरको विकासमा निजी क्षेत्रको पनि भूमिका रहेको बताए ।
‘हामी स्थानीय सरकारसँग सहकार्य गर्न चाहान्छौँ । यहाँको विकासमा हाम्रो साझेदारी रहनेछ । त्यसका लागि स्थानीय सरकारले समेत व्यवसायीहरुको हक र हितका लागि काम गर्नुपर्छ,’ उनले भने ।
उक्त अवसरमा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमालले स्थानीय सरकार र व्यवसायीबीच विकासको लागि साझेदारी आवश्यक रहेको बताए । व्यवसायी नाफाका लागि मात्रै नभएर सामाजिक कार्यमा समेत लगानी गर्नुपर्ने उनको भनाइ थियो । कोहलपुर हार्डवेयर संघ बाँकेका अध्यक्ष कुमार उप्रेतीले संघले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको बताए ।
प्रतिक्रिया दिनुहोस्