कोहलपुर– २ ले सुकुम्बासी समस्या समाधानको लागि थाल्यो प्रयास



कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर २ ले सुकुम्बासी समस्या समाधानको लागि प्रयास थालेको छ । वडाका विभिन्न बस्तीमा गएर समस्या समाधानका लागि प्रयास सुरु गरिएको हो ।

वडाध्यक्ष हरिसिंह कठायतका अनुसार लामो समयदेखि भूमिहीन तथा सुकुम्बासीको रुपमा बसोबास गर्दै आएका नागरिकहरुका समस्या समाधानका लागि प्राविधिकसहित टोलीले काम सुरु गरेको हो । उनले स्थानीय नागरिकको सुकुम्बासी समस्या समाधानको प्रयास थालिएको बताए । सोहीअनुसार वडामा नापजाँच, नक्सा तयार तथा क्षेत्रफल गणनाको काम प्रारम्भ भएको वडाध्यक्ष कठायतको भनाइ छ ।

वडाका समस्या समाधानका लागि नापी कार्यालय बाँकेबाट टोली, टोल विकास समिति र जनप्रतिनिधिहरुको टोलीले संयुक्तरुपमा नापजाँच तथा नक्सा तयार गरेको उनले बताएका छन् । ‘वडाको सुकुम्बासी समस्या समाधान गर्ने हाम्रो लक्ष्य हो । हामी निर्वाचित भएदेखि नै यो विषयलाई गम्भीररुपमा लिएका छौँ । हाम्रै कार्यकालमा यो समस्या समाधान हुन्,’ वडाध्यक्ष कठायतले भने ।

नापजाँच र नक्सा तयार गर्ने काम सकिएपछि वडामा लालपूर्जा वितरण गरिने वडाले जनाएको छ । नापी कार्यालयले समेत जग्गाधनी लालपूर्जा वितरणकै लागि नापजाँच र नक्सा पास जरुरी हुने जनाएको छ । यसअघि कोहलपुर नगरपालिकाका केही वडामा गाउँ ब्लकका लालपूर्जा वितरण गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २९ गते बुधबार