शुभाकर विश्वकर्मा । कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर १० को राधा प्रतीक्षालय हुँदै रझेना गाउँ जाने बाटोमा गरिएको कालोपत्रे दुई महिनामै उप्किएको छ । कोहलपुर–नेपालगन्ज सडक खण्डसँगै जोडिएको विद्यानगर टोलमा गरिएको कालोपत्रे दुई महिना नबित्दै उप्किएको हो ।
९५ मिटरसम्म गरिएको कालोपत्रेको अधिकांश ठाउँमा उप्किँदा पनि सरोकारवाला निकायले ध्यान दिन सकेको छैन । उक्त सडकखण्ड ६ मिटरसम्मको चौडाइ हो । सडकको एकतर्फि मात्रै कालोपत्रे भएको छ ।
सडकको दायाँ र बाँया क्षेत्रमा पूरै कालोपत्रे गरिएको छैन । उक्त क्षेत्रमा आर्थिक वर्ष २०७८/०७९ को अन्त्यमा कोहलपुर नगरपालिकाले ठेक्का प्रक्रियामार्फत निर्माण गरेको हो । उक्त बाटो कालोपत्रे गर्ने जिम्मा कोहलपुर–९ स्थित महारूद्र निर्माण सेवा कोहलपुरले पाएको थियो । तर, कालोपत्रे दुई महिना नबित्दै भत्किँदा पनि सम्बन्धित वडा र नगरपालिकाले कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सकेका छैनन् ।
कालोपत्रे भएको आधा दर्जन बढी गाउँमा कालोपत्रे उप्किएको छ । कुनै ठाउँमा कालोपत्रे गरिएको सडक नै भाँस्सिएको छ । कुनै ठाउँमा कालोपत्रे गरेको क्षेत्रमा ससाना ढुंगा जस्ता टुक्राहरु भेटिन्छन् ।
उक्त कालोपत्रे मापदण्डअनुसार पनि गरेको देखिँदैन । कालोपत्रे गरेको ठाउँमा ढुंगा र बालुवा छुट्टिएको छ । प्रदेश सरकार शसर्त अनुदानको नौ लाख बजेटमा उक्त निर्माण कम्पनीले कालोपत्रे गरेको थियो । कोहलपुर नगरपालिकाका इञ्जिनियर बालकृष्ण महतारा क्षेत्रीले सात लाख ४३ हजार रुपैयाँमा ठेक्का भएको बताए । निर्माण कम्पनीले सात लाख १० हजार रुपैयाँ भुक्तानी पाइसकेको छ ।
उनका अनुसार उक्त क्षेत्रमा कालोपत्रे उप्किएको विषयमा नगरपालिका जानकार छ । आर्थिक वर्षको अन्त्यतिर निर्माण गरिएको सडकमा पेट्रोल लिंक भएको ट्याक्टर गुडाउँदा कालोपत्रे उप्किएको इञ्जिनियर महातारा क्षेत्रीले बताए ।
नगरपालिकाले त्यसको पुनःनिर्माणका लागि सचेत गराइसकेको उनको भनाइ छ । ‘यो विषयमा हामी जानकार छौँ । सम्बन्धित ठेकेदारलाई सचेत गराइएका छौँ । अब तत्काल निर्माण गर्न लगाउँछौँ,’ उनले भने । वडाध्यक्ष गौरा भट्टराई आफूहरु आउनुभन्दा पहिला निर्माण भएको बताउँछिन् । ‘सबै उप्किएको छ । बनाउँदा ठेकेदारलाई दिने, उपभोक्तालाई नदिने, ठेकेदारले कमिसन खान्छ । थोरैमा काम गर्छ । यस्तै छ,’ उनले भनिन् । उनले वडाले आवश्यक प्रक्रिया पूरा गरेर सचेत गराउने बताइन् ।
यता निर्माण कम्पनीका सञ्चालक युवराज न्यौपाने कालोपत्रे गर्ने बेला प्राविधिक त्रुटिका कारण त्यस्तो समस्या आएको स्वीकार गर्छन् । उनले समस्या देखिएको ठाउँमा पुनःनिर्माण गर्ने बताए । सञ्चालक न्यौपानेले केही दिनमा समस्या देखिएको ठाउँमा आफूले काम गर्ने बताए । ‘काम गर्दागर्दै पाइप फुटेको हो । पेट्रोलले गर्दा समस्या भयो । अरु काम राम्रो भएको छ । समस्या देखिएको ठाउँमा हामी काम गछौँ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।









प्रतिक्रिया दिनुहोस्