नेपालगन्ज ।
नेपालगन्जको सहरी क्षेत्रमा बाँदरहरु पसेर उपद्रो गर्न थालेका छन् । केही वर्षयता वर्षात्को उत्तरार्धमा बाँदरहरु नेपालगन्जको बजार क्षेत्रमा प्रवेश गर्न थालेका छन् । यसपटक पनि बाँदरहरु घरभित्रै पसेर उपद्रो मच्चाउन थालेको स्थानीयहरुले बताएका छन् ।
नेपालगन्ज वडा नम्बर २ की फातिमा शेषले बाँदरहरु विद्युत् तथा टेलिफोनका तारमा चढेर छतमा पुग्ने गरेका बताउँछिन् । खानेकुरा भेटिएमा खाइदिने र अन्य सामान तोडफोड गरिदिने गरेको उनले बताइन् ।
नेपालगन्जको न्यूरोड, ईदगाह रोडलगायत क्षेत्रमा बाँदरहरु बढी मात्रामा देखिन थालेका छन् । बाँदरहरुले बालीनाली उखेली दिने, घरभित्रै पसेर खानेकुरा र अन्नपात खाइदिने र बालक तथा वृद्धहरुमाथि झम्टिने गर्न थालेका छन् । यसैगरी बारीमा लगाएको काउली, टमाटर, मेवा, फर्सि, लौका, आलुलगायतका बालीनाली तथा तरकारी खाइदिने र नष्ट गर्ने गर्न थालेका छन् । छाडा चौपायाका कारण तनाव झेल्नु परिरहेको नेपालगन्जमा बाँदरको प्रवेशसँगै अर्काे झमेला थपिएको छ ।
बाँदरको उपद्रोका विषयमा नेपालगन्ज उपमहानगरपालिकामा पनि बाँदरको समस्याका विषयमा एउटा निवेदन परेको छ । उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले आफूकहाँ एउटा निवेदन आएको जानकारी दिए । उनले यस समस्याका विषयमा विपद् व्यवस्थापन समितिमा छलफल गरेर समाधानका उपायहरु अपनाइने पनि बताए ।
डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नारायण पार्धे बाँदरहरु बस्ती र सहरी क्षेत्रमा प्रवेश गर्नुका मुख्यगरी तीनवटा कारण रहेको बताउँछन् । सामुदायिक वन तथा उनीहरुको बासस्थानमा आएको कमी, उनीहरुको आहारामा आएको कमी र यस समयमा फल्ने अन्नबालीको खोजीमा उनीहरु सहर पसेको हुनसक्ने पार्धेले बताए ।
सहरमा बाँदरहरुको प्रवेशलाई रोक्न उनीहरुका लागि वनमै प्राकृतिक वातावरण सिर्जना गर्नु र आहाराको व्यवस्थाका लागि जंगलमा फलफूलका बिरुवाहरु रोप्नुपर्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्