बाँके ।
बैजनाथ गाउँपालिकामा पहिलोपटक पशु अस्पताल बन्ने भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको अस्पताल भवनको शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको थियो । पशु अस्पताल भवनको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले शिलान्यास गरेका थिए ।
‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ कार्यान्वयन गर्न अन्र्तगत पशु अस्पताल भवनको शिलान्यास गरिएको बताइएको छ । गाउँपालिकाको ११औं गाउँसभाले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत उक्त कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
अस्पताल भवनको शिलान्यास गर्दै पालिका अध्यक्ष शाहीले तोकिएको समयभित्र भवन सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । ‘समयमै भवन बनेपछि यहाँबाट सेवा प्रवाह गर्न समेत सहज हुन्छ’ उनले भने, ‘तोकिएको समयमा यो भवन निर्माण हुनुपर्छ ।’ पशु अस्पताल भवन निर्माण भएलगत्तै गाउँपालिकाले सेवा सञ्चालनमा ल्याउनेछ ।
गाउँपालिका उपाध्यक्ष रोकायले पशु अस्पताल सञ्चालनमा आएपछि पशुपालन किसानहरुलाई सहज हुने बताइन् । ‘बैजनाथ पशुपालनमा राम्रो सम्भावना बोकेको स्थान हो’ उनले भनिन्, ‘निर्धारित समयमै अस्पताल सञ्चालनमा आएपछि यहाँका किसानलाई पक्कैपनि सजिलो हुन्छ ।’
कुल ४८ लाख ४६ हजार रुपैयाँको लागतमा पशु अस्पताल भवन निर्माण गर्न लागिएको बैजनाथ गाउँपालिकाले जनाएको छ ।
बाँकेका आठ वटा पालिकामध्ये बैजनाथमा पहिलोपटक पशुलाई ध्यानमा राखेर पशु अस्पताल निर्माण हुन लागेको हो । पशु अस्पताल सञ्चालनमा आएपछि पशुपालन गर्दै आएका किसानहरुलाई एकै स्थानबाट सबै सेवाहरु लिन सजिलो हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्