बाँकेमा सवारी दुर्घटनामा पुरुषको मृत्यु धेरै



गत आर्थिक वर्षमा मात्रै बाँकेका सवारी दुर्घटनामा परेर ५८ जना पुरुषले ज्यान गुमाएका छन् । सो अवधिको तथ्यांक हेर्ने हो भने महिलाको मृत्यु हुने संख्या १५ जना मात्र रहेको छ । सवारी दुर्घटनामा परेर सो अवधिमा ६४ जना पुरुषहरु गम्भीर घाइते भएका थिए । सवारी चलाउनेको संख्यामा कमी र सचेत भएर सवारी चलाउँदा दुर्घटनामा कम पर्ने गरेको देखाउँछ ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

गत आर्थिक वर्ष २०७८/०७९ को साउन महिनामा भएका ११ वटा सवारी दुर्घटनामा ४ जना पुरुषले ज्यान गुमाए । असोज, मंसिर र पुस महिनामा भएका ७८ वटा सवारी दुर्घटनामा २१ जना पुरुषको मृत्यु भयो । सोही आर्थिक वर्षकै चैत्र, बैशाख र जेठ महिनामा भएका ३९ वटा सवारी दुर्घटनामा थप १८ जना पुरुषको मृत्यु भएको थियो ।

भदौ, कार्तिक, माघ, फागुन र असार महिनामा बाँकेमा सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका थिए । उक्त आर्थिक वर्षमा ५८ पुरुषसहित जिल्लामा भएका सवारी दुर्घटनामा परेर ८२ जनाको मृत्यु भएको थियो । सवारी दुर्घटनामा ५८ जना पुरुषले ज्यान गुमाउँदा १५ जना महिलाले ज्यान गुमाएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले दिएको जानकारी अनुसार सो अवधिमा दुर्घटनामा परेर ८९ जना गम्भीर घाइते भएका थिए । तीमध्ये ६४ जना पुरुषहरु रहेका छन् । ७ जना महिला गम्भीर घाइते भए । ४८ जना सामान्य घाइते हुँदा ४३ जना पुरुष मात्र रहेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख रहेको छ । गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर १० जना बालक र ४ जना बालिकाको मृत्यु भएको थियो ।

जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरमा प्रमुख ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले सो अवधिमा दुर्घटनामा परेर ७ जना बालक र ३ जना बालिका गम्भीर घाइते भएका थिए । ‘चालू आवमा मात्रै सवारी दुर्घटनाका कारण १ करोड ३० लाख १४ हजार रुपैयाँ बराबरको क्षती भएको देखिन्छ’ उनले भने, ‘बढ्दो सवारी चापसँगै मानवीय भौतिक क्षती समेत बढ्दै गइरहेको देखिन्छ ।’

गत आर्थिक वर्षमा जिल्लाभर २ सय ९ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनाका कारण २० पशुचौपायाकले समेत ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । १५ वटा पशुचौपाया घाइते भएका थिए ।

गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा २०९ सवारी दुर्घटना भएका थिए । त्यसमा सबैभन्दा बढी १ सय ९ वटा मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक शाहले जानकारी दिए । जिप र कार २८ वटा दुर्घटनामा परेका थिए । सबैभन्दा धेरै ३३ वटा सवारी दुर्घटना मंसिर तथा सबैभन्दा कम माघ र बैशाख महिनामा समान १०/१० महिनामा भएका थिए ।

लापरबाहीले धेरै दुर्घटना

नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या बढी छ । नेपाली समाज पुरुष प्रदान छ । एकात बाहेक बहुसंख्यक रुपमा परिवारको आर्थिक उपार्जन पुरुषमै निर्भर छ । पुरुषको तुलनामा महिलाहरु चुलोचौकोमा धेरै सीमित छन् । पुरुषलाई बढी घरभन्दा बाहिरको जिम्मेवारी हुन्छ । सवारी साधनसमेत पुरुषले भन्दा महिलाले कम चलाउँछन् ।

महिला दुर्घटनामा कम पर्ने पहिलो कारण यहिँ हो । पछिल्लो समय तुलनात्मक रुपमा सवारी साधन चलाउने महिलाको संख्या बढ्दो क्रममा छ । महिलाहरु पुरुष भन्दा एकदम सचेत भएर सवारी साधन चलाउँछन् ।

दोस्रो कारण हो, उनीहरुले संयमित रुपमा सवारी चलाउनु । पुरुषहरु यस मामिलामा लापरबाही हुन्छन् । मदिरा सेवन गरेर सवारी चलाउने भएकोले समेत महिला भन्दा पुरुषहरु बढी सवारी दुर्घटनामा पर्ने गरेको देखिएको छ । अर्को कारण हो, महिलाहरुको शान्त स्वभाव ।

‘मानिसको स्वाभावले पनि दुर्घटनामा भूमिका खेल्छ’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, कोहलपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले भने । बाँकेको जिल्लाको सन्दर्भमा पनि पुरुष भन्दा महिला कम बाहिरी काममा निस्कछन् ।

सवारी साधन चलाएरै बाहिर निस्केपनि जिम्मेवार रुपमा संयमित भएर चलाउने गरेको उनी बताउँछन् । लापरबाहीका कारण पनि दुर्घटनामा परेर महिला भन्दा पुरुषको बढी मृत्यु हुने गरेको शाहको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २६ गते आइतबार