भदौ १० गतको कार्यपालिका बैठकको आठौँ निर्णय पनि अझै कार्यान्वयन हुन सकेको छैन । त्यो बैठकले सय दिनको अवधिमा भएका मुख्य उपलब्धिहरु जनतामाझ प्रस्तुत गर्नुपर्ने भएकोले आआफ्नो शाखा-पशाखा र कार्यालयबाट सम्पादन गरेका उल्लेखनीय कार्य विवरण १५ भदौसम्म प्रमुखको सचिवालयमा बुझाउने निर्णय भएको थियो ।
शुभाकर विश्वकर्मा । कोहलपुर ।
निर्णय
कोहलपुर क्षेत्रभित्र सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउने ।
उपलब्धिः
सर्वदलीय बैठकबाट उक्त कार्य तत्काल स्थगित गर्ने ।
निर्णय
समयमै काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने ।
उपलब्धि
तत्काललाई कालोसूचीमा नराख्ने र लचिलो बन्ने ।
निर्णय
नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई संघमा फिर्ता पठाउने ।
उपलब्धि
तत्काल स्वास्थ्यकर्मीलाई संघमा फिर्ता नपठाउने र नगरमै बसाउने ।
…
माथि उल्लेखित निर्णय कार्यान्वयन भएको भए कोहलपुरको समृद्धिमा टेवा पुग्नेमा कुनै शंका छैन । कोहलपुरलाई विकासोन्मुख सहर मात्र भनिँदैन । टहराको सहर भनेर पनि चिनिन्छ । टहराको सहरबाट मुक्त हुन नगरले निर्णय नम्बर १ मा उल्लेख गरिएको निर्णय ग¥यो । यदी यो निर्णय कार्यान्वयन भएको भए कोहलपुर टहरामुक्त हुन्थ्यो ।
एक सुन्दर र फराकिलो सहरमा रुपान्तरण हुन्थ्यो तर, नगर यो निर्णयबाट पछाडि घट्यो । अर्काे कोहलपुरको समृद्धिका लागि निर्णय नम्बर २ मा उल्लेख गरिएको निर्णय कार्यान्वयन हुन जरुरी थियो । ठेक्का सम्झौता गरेर योजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णय सर्वत्र स्वागतयोग्य बनेको थियो ।
…
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले आफ्नो कार्यकालको एक सय दिन पूरा गरेका छन् । नागरिकका लागि भरोसा योग्य सरकार र सुशासनयुक्त नगरको रूपमा स्थापित गर्ने प्रमुख उद्देश्य लिएका आचार्यले एक सय दिन पूरा गरेका हुन् । उनले नगर प्रमुखको रूपमा जेठ ९ गते कार्यभार सम्हालेका थिए । उनले कार्यकाल सम्हालेको १७ भदौमा एक सय दिन पूरा भएको छ । कार्यकालको एक सय दिने प्रगति सार्वजनिक गरिसकेका छैनन् ।
तर, भदौ १० गतको कार्यपालिका बैठकको आठौँ निर्णय पनि अझै कार्यान्वयन हुन सकेको छैन । त्यो बैठकले सय दिनको अवधिमा भएका मुख्य उपलब्धिहरु जनतामाझ प्रस्तुत गर्नुपर्ने भएकोले आ-आफ्नो शाखा-उपशाखा र कार्यालयबाट सम्पादन गरेका उल्लेखनीय कार्य विवरण १५ भदौसम्म प्रमुखको सचिवालयमा बुझाउने निर्णय भएको थियो । उक्त अवधिको सय दिन पूरा भइसक्दासमेत उपलब्धि सार्वजनिक भएन।
आचार्यको सय दिनको कार्यकालमा सबैभन्दा कमजोररुपमा देखिएको समस्या नै यही हो । यो अवधिमा उनले सातपटक कार्यपालिका बैठक बसेर करिब ६ दर्जन मुख्य र सयौ सहायक निर्णय गरेका छन् । निर्णय कार्यान्वयनमा उनी ‘जस्ट पास’ समेत हुन सकेका छैनन् । अन्धाधुन्ध निर्णयमा भने उनी माहिर देखिएका छन् । निर्णय कार्यान्वयनमा भने आचार्यले युवा जोस र परिपक्वता देखाउन सकेका छैनन् ।
उनमा समन्वयको समेत अभाव देखिन्छ । बरु उनले गरेका निर्णय निरन्तर विवादित र असफल हुँदै गएका छन् । आफैँले गरेका निर्णय कार्यान्वयनका लागि उनी नाम जस्तै पूर्ण असफलताको यात्रा जाने जोखिम छ । सय दिनसम्म आइपुग्दा उनले आफूलाई जनताको सेवकभन्दा पनि शासकको रुपमा देखाउन खोजे जस्तो आरोप लाग्दै आएको छ ।
उनीमा केही नयाँ गरौँ भन्ने हुटहुटी पनि नदेखिएको होइन, तर हुटहुटीलाई लगाम लगाइन्छ र उनी पछाडि हट्छन् । यो उनको नियति वा बाह्य चलखेल त्यो खोजीको विषय होला । जित्ने मानिसहरु कुनै बेग्लै काम गर्दैनन् । उनीहरु हरेक काम बेग्लै ढंगले गर्छन् । यो अवधिमा उनले न बेग्लै काम गर्न सके न त बेग्लै ढंगले । योजना कार्यान्वयनमा स्पष्ट भिजन, मिसन र पूर्वतयारी आवश्यक हुन्छ । आचार्यमा त्यो अभाव बुलन्दरुपमा देखिएको छ ।
बरु, आचार्य यो अवधिमा कामभन्दा पनि बढी प्रचारप्रसारमा देखिन खोजे जस्तो देखिन्छन् । यो अवधिमा काम कम मिडियाबाजी र स्टन्ट बढी भएकै हो । उनी छापामार शैलीमा विद्यालय अनुगमनमा निस्किए । यो अभियान दुई दिनमै सेलायो । राम्रा अभ्यासको अवलोकनका लागि भन्दै विभिन्न ठाउँ गए तर, उपलब्धि देखिएन । अवलोकनमा जाँदा फेसबुकमा स्ट्याटस् लेख्नेबाहेक अरु उपलब्धि देखिएन ।
यस्ता धेरै कुरामा उनी चुकेका छन् । कार्यभार सम्हालेलगत्तै उनले आफ्ना सात प्राथमिकता सार्वजनिक गरेका थिए । प्राथमिकतामा उनले काम गर्ने कोसिस त गरेका छन् तर, कुनै पनि काम सम्पन्न भइसकेको छैन । कामको परिणाम देखाउन कुनै पनि व्यक्तिलाई एक सय दिन धेरै समय हो ।
नागरिकमा बढ्दो अविश्वास
सय दिनको अवधिमा उनले नागरिक तहमा आसा र भरोसाको सञ्चार गराउन सकेका छैनन् । बरु विवादित निर्णय र कार्यान्वयनका असफलता र प्रमुख जनजीविकाका विषयप्रतिको उदासिनताका कारण नागरिक तहमा उनीप्रतिको विश्वास घट्दो छ । पार्टीभित्रै पनि गुटगत प्रतिनिधिको रुपमा प्रस्तुत हुने गरेको दुखेसो उनकै माउपार्टीका नेता कार्यकर्ता गर्छन् ।
कार्यपालिकामा रहेका अन्य दलका जनप्रतिनिधिसँग निर्णय प्रक्रियामा समेत चरम बेवास्ताको गन्धको आभास गरेको बताउँछन्, फरक पार्टीका जनप्रतिनिधिहरु ।
एक वडा अध्यक्ष त युवा मेयर आउँदा आफूलाई निकै खुसी लागेको र सहयोग गर्ने बाचासमेत गरे पनि पछिल्ला गतिविधिका कारण आफू निरास भएको बताउँछन् । जनताको अत्यावश्यक सेवाको रुपमा रहेको एम्बुलेन्स सेवासमेत कार्यविधि अभावमा थन्किएको छ ।
विवाद र असफलताको श्रृंखला
पहिलो कार्यपालिका बैठकबाटै बलात्कार आरोपित (जसले प्रहरी हिरासतमा रहेको बेला शौचालयमा आत्महत्या गरेका थिए) का परिवारलाई विपद् व्यवस्थापन कोषबाट ५० हजार दिने विवादित निर्णय गरेर उनले जनप्रतिनिधिको रुपमा अपरिपक्वता प्रदर्शन गरे । निर्णयको विरोध भए पनि हरेक फोरममा स्पष्टीकरणको बाढी बर्साएका मेयरले बलात्कार पीडित किशोरीलाई भेट्नसम्म आट गरेनन् ।
स्वास्थ्यकर्मी हटाउने निर्णयमा नगरपालिका नीतिगतरुपमा पछि हटिसकेको छ । आफैँले गरेका निर्णयबाट निरीहरुपमा पछि हट्नु उनमा पूर्वयोजना र पूर्वतयारीको कमी हो । समयमै काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्न सक्ने आफ्नै निर्णय कार्यान्वयनमा नआउनु प्रश्नको घेरामा छ । नगर क्षेत्रका अव्यस्थित र अवैध संरचना हटाउने अभियानमा समेत उनी शक्तिका सामु झुक्न बाध्य भए ।
बसपार्क क्षेत्रको संरचना हटाउन उद्दत देखिएका उनी जसरी आक्रामकरुपमा प्रस्तुत भए । त्यसको ठिकविपरीत सम्झौताको नाममा सेभल्यान्डिङको सहारा लिनुप¥यो । क्रिकेट मैदानको अतिक्रमित संरचना हटाउने ३५ दिने सूचना जारी नगरपालिकाले गरेको छ । यहाँ उनको असली अग्नी परीक्षा हुनेछ ।
केही राम्रा सुरुवातका संकेत
कोहलपुर नगरपालिकाले डिजिटल र सुशासनयुक्त नगरको नीति लिएको छ । जनता र जनप्रतिनिधिलाई जोड्ने प्रयाससमेत नगरले गरेको छ । एक दिनको अवधिमा नगरपालिकाले आर्थिक भार कम गर्ने प्रशासनिक संरचना सुधारका लागि विज्ञ समूहले काम गरिसकेको छ । इन्धन खर्चमा मितव्ययिताको अभ्यास सुरु भएको छ ।
सुशासन कायम गर्ने उद्देश्यले योजना कार्यान्वयनका लागि टेण्डर प्रक्रियालाई प्राथमिकता दिइएको छ । नगरपालिकाको समग्र अवस्थाको विषयमा श्वेत्तपत्र सार्वजनिक गर्ने भनिएको छ । आर्थिक सुशासन, पारदर्शीताका लागि सार्वजनिक सुनुवाइ, योजना समयमै योजना कार्यान्वयनलाई कडाइ गरिएको छ ।
लामो समयदेखि प्रयास हुँदै आएको मालपोत र नापी कार्यालयको उद्घाटन गरिएको छ । यसबाट कोहलपुरसहित बैजनाथ र राप्तीसोनारीका नागरिकसमेत लाभान्वित हुने छन् । यस्तै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि क्षेत्रको बृहत् विकास गर्ने लक्ष्य नगरपालिकाको छ ।
‘प्रगति सार्वजनिक गर्दैछौँ’
पूर्णप्रसाद आचार्य
नगर प्रमुख, कोहलपुर नगरपालिका
जनप्रतिनिधिको रूपमा हामीले कार्यभार सम्हालेको सय दिन पूरा भएको छ । यो अवधिमा नगरपालिकाले गरेका प्रगति सार्वजनिक गर्दैछौँ । त्यसका लागि नगरपालिकाअन्तर्गत विभिन्न शाखा, उपशाखालाई भएका राम्रा कामको विवरण मगाएका छौँ ।
अहिले निरन्तर आउने क्रम जारी छ । तर, केही समय ढिलो भएको छ । के–के काम भए भनेर कम्पाइल हुँदैछ । अबको केही दिनमा सार्वजनिक गर्छौँ ।
नआत्तिनूहोस् ,न मात्तिनूहोस्
लुटबहादुर रावत
निवर्तमान प्रमुख, कोहलपुर नगरपालिका
मैले नगरपालिका र जनप्रतिनिधिहरुको कामको विषयमा गहिरिएर अध्ययन गरेको छैन । मैले खास्सै चाँसो नि दिएको छैन । यसमा मेरो प्रतिक्रियाभन्दा पनि सुझाव छ । जनप्रतिनिधिलाई म हतार नगरेर काम गर्न आग्रह गर्न चाहन्छुँ ।
काम गर्दाखेरि सुझबुझपूर्णरुपमा अघि बढ्नुपर्छ । विशेष गरेर मेयरज्यूलाई मेरो सुझाव छ, तपाईँ हतार गरेर अघि बढ्न नखोज्नूहोस् । उहाँका हतारको उदाहरण, बसपार्कको विषय हो । उहाँलाई मैले बसपार्कमा निश्चित कार्यक्रमअनुसार जानूहोस् भनेको हो ।
उहाँले सर्वदलीय बैठक र रायअनुसार अघि बढ्नुपर्ने थियो । उहाँकै हतारका कारण आफैँ पछि हट्नुपर्ने अवस्था आयो । बसपार्कलाई गर्ने के हो योजना लिएर जानूहोस् भनेको थिए । न आत्तिएर, न हतारिएर काम गर्नूहोस् । योजनासहित अघि बढ्नूहोस् । कोहलपुरको निर्माणका लागि सहकार्य नै आवश्यक छ ।
परिणाममुखी काम देखिएन
नरेन्द्र न्यौपाने
मेयर पदका उम्मेदवार
नयाँ जनप्रतिनिधि आएको सय दिन पुगेको छ । उहाँहरु नयाँ जोस र जागरका साथ काम गरिरहनु भएको होला । सुरुवाती चरणमा राम्रा काम गर्न खोजेको देखिन्छ । तर, अहिलेसम्म परिणाममुखी काम केही देखिएको छैन । जनताले अनुभूति गर्ने गरी काम गरेको मैले देखेको छैन । समग्रमा हामी नगरवासीले सकारात्मक प्रकृतिका काम देख्न सकेका छैनौँ ।
स्थानीय चुनावमा म मेयरसँगको प्रतिस्पर्धीसमेत हो । स्वास्थ्य शाखा प्रमुख र बसपार्कका संरचनाका विषयमा बोलाउनुबाहेक अन्य काममा कुनै पनि सहकार्य र समन्वय छैन । नगरका महŒवपूर्ण सवालमा सहकार्य र समन्वयको विषयमा कुनै पनि कुरा भएको छैन ।









प्रतिक्रिया दिनुहोस्