राप्तीसोनारी ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले नेपाली कांग्रेस गठबन्धनको बाटोमा अगाडि बढिसकेको बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाँकेले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानलाई सम्बोधन गर्दै उनले गठबन्धनको मनस्थिति बनाएर अघि बढ्न आह्वान गरे ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित उक्त अभियानका लागि बाँकेमा खटिएका गिरीले पार्टीले चुनावमा सत्तारुढ दलहरूबीच गठबन्धन गर्ने निर्णय गरिसकेकाले त्यसलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । उनले गठबन्धनलाई सफल बनाउन सबै कांग्रेसजनलाई प्रतिबद्ध भएर लाग्न आह्वान गरे ।
स्थानीय चुनावमा कांग्रेसले उल्लासपूर्ण विजय हासिल गरेको बताउँदै उनले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सुखद नतिजा आउने विश्वास व्यक्त गरे ।
उनले समयमै उम्मेदवारहरुको टुंगो लगाउनुपर्छ भन्ने आम कांग्रेसजनको भावनालाई पार्टीले गम्भीरतापूर्वक लिने बताए ।
लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुषालले पार्टीले वस्तुगत अवस्थाको विश्लेषण गरेर गठबन्धनकारी दलहरुका बीचमा सिट बाँडफाँड गर्नुपर्ने बताए । उनले बाँकेका तीनवटै क्षेत्रमा कांग्रेस एक्लै लड्न सक्षम भए पनि पार्टीको निर्णयलाई स्वीकार्नुको विकल्प नरहेको बताए ।
गठबन्धनमा रहेका दलहरुले दम्भ देखाउन नहुने भन्दै भुषालले धरातलीय यथार्थलाई सबैले बुझ्नुपर्ने बताए ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै क्षेत्रीय सभापति पोषण केसीले पार्टीले देशव्यापीरुपमा सञ्चालन गरेको जनताको साथमा कांग्रेस अभियानलाई क्षेत्रीय कार्यसमितिले आत्मसाथ गरेर कार्यक्रमको आयोजना गरेको बताए । उनले क्षेत्र नम्बर १ मा कांग्रेस सुदृढ अवस्थामा रहेको भन्दै विगतको निर्वाचनलाई आधार मानेर जाँदा पार्टीलाई क्षति पुग्ने बताए ।
उनले सकेसम्म संघ नभए दुईवटै प्रदेशसभा क्षेत्र कांग्रेसले पाउनुपर्ने लबिङ आफूहरुले केन्द्रमा गरिरहेको बताए । केसीले विगतमा भएका कमी कमजोरीलाई सच्च्याउँदै एक ढिक्का भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सञ्जुकुमारी चौधरी, पार्टीका निवर्तमान सचिव एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, महाधिवेशन प्रतिनिधि संगीता थारु, क्षेत्र नम्बर १ का निवर्तमान सभापति क्षेत्रीय सभापति माधवराम खत्री, नेपाल तरुण दलका पूर्व महासचिव एवम् कांग्रेस नेता हुर्मतकुमार न्यौपाने, राप्तीसोनारी गाउँपालिका सभापति भीमबहादुर रानाले सम्बोधन गरेका थिए ।
प्रदेशसभा १ (क) का सभापति लक्ष्मण थारुले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेका थिए । कार्यक्रमका दौरान खुला छलफलमा बोलेका वक्ताहरुले पार्टीले अन्तिम समयमा उम्मेदवार टुंगो लगाउने प्रवृत्ति हटाउँदै समयमै टिकट वितरण गर्नुपर्नेमा जोड दिए । उनीहरुले टिकट जसले पाए पनि जिताउन लाग्ने बताउँदै गुटउपगुट कांग्रेसको क्यान्सर भएको टिप्पणी गरे ।
खुला छलफलमा डिल्ली रावत, द्रोणप्रसाद जैसी, ईश्वरी विक, जागेश्वरप्रसाद चौधरी, मदनकुमार बुढा, प्रताप देवकोटा, सन्तोष चौधरी, विक्रम थारु, प्रेमा कुसारीले बोलेका थिए ।









प्रतिक्रिया दिनुहोस्