मन्त्री राईलाई गृहनगर नेपालगन्जमै अवरोध



नेपालगन्ज ।

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईलाई गृहनगरकै एक कार्यक्रममा स्थानीयहरुले अवरोध गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को एक तले भवन उद्घाटन गर्न पुगेका मन्त्री राईलाई स्थानीय युवाको एक समूहले अवरोध गरेको बाँके प्रहरीले पुष्टि गरेको छ ।

मन्त्री राईले दुई वर्ष अघि नै निर्माण सम्पन्न भएको भवन उद्घाटन गर्न खोजेपछि विवाद भएको बताइएको छ । मन्त्री राईले भवनको उद्घाटन गरेर शिलालेख राख्न खोज्दा युवाको एक समूहले अवरोध गरेपछि केहीबेर चर्काचर्की भएको र स्थानीयहरुले राखिएको शिलालेख हटाएर मन्त्री राईलाई फर्किन दबाब दिएका स्थानीयहरुले बताएका छन् ।

मन्त्री राईमा शिलालेख र चुनाव लक्षित स्टन्ट मोह धेरै देखिएको भन्दै पटकपटक आलोचना हुँदै आएको छ । उनले केही दिनअघि नेपालगन्ज–कोहलपुर सडक ‘अस्फाल्ट’ ओभरले गर्ने कामको ठेक्का सम्झौता नहुँदै शिलान्यास गरेका थिए । त्यसपछि स्तरोन्नतिको कामको शिलान्यास नहुने र ठेक्का सम्झौता नहुँदै हतारमा चुनावी स्टन्ट गर्नेगरी शिलान्यास गरेको भन्दै मन्त्री राईको आलोचना हुँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २० गते सोमबार