बाँके ।
बाँकेका तीन प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तीनै वटै क्षेत्रमा उम्मेदवारका आंकाक्षीहरुको नाम एमालेले सिफारिस गरेको हो ।
नेकपा एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम सिफारिस गरिएको छ ।
ढकाल नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज हुन् । क्षेत्र नम्बर २ बाट मोहम्मद हारुन, शिव डोटेल र रबिन्द्र लम्सालको नाम सिफारिस गरिएको छ ।
यसैगरी, क्षेत्र नम्बर ३ बाट किस्मतकुमार कक्षपति, रत्न खत्री र बागमती रेग्मीको नाम सिफारिस गरिएको छ । खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका कक्षपति बाँके जिल्ला अध्यक्ष हुन् भने, खत्री जिल्ला सचिव हुन् ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेले बाँकेको क्षेत्र नम्बर ३ मा मात्र प्रतिनिधिसभा सांसद जितेको थियो । क्षेत्र नम्बर ३ मा तत्कालीन बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार नन्दलाल रोकाय निर्वाचित भएका थिए ।
यस्तै
प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमाले बाँकेले उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेले शनिबार जिल्लाका ६ वटै प्रदेश निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको हो । केन्द्रीय तालिकानुसार प्रत्यक्षतर्फका लागि बाँके क्षेत्र नम्बर–१ (क) बाट ६ जनाको नाम सिफारिस गरिएको छ । सोहनलाल यादव, रामकुमार दीक्षित, तीर्थ डाँगी, परसुराम थारु, खुमा डाँगी र विक्रम यादवको नाम सिफारिस गरिएको नेकपा एमाले बाँकेले जनाएको छ ।
एमालेका अनुसार क्षेत्र नम्बर १ (ख) बाट पनि नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्षतर्फ सातजनाको नाम सिफारिस भएको छ । विष्णु बेल्वासे, सूर्य रोकाय, नरेन्द्र शर्मा, कुश्माखर बस्याल, दुर्गाबहादुर चौधरी, सुनिता पौडेल र बिजुला अधिकारीको नाम सिफारिस गरिएको नेकपा एमालेले जनाएको छ ।
सिफारिस भएका बेल्वासे बाँकेका अग्रज पत्रकारसमेत हुन् । त्यस्तै क्षेत्र नम्बर–२ (क) बाट विजयबहादुर यादव, राजेन्द्र कँडेल र विष्णु भण्डारीलाई सिफारिस भएको छ । यता क्षेत्र नम्बर २ (ख)बाट निरक गुरुङ, कृष्णप्रसाद श्रेष्ठ, दत्तप्रसाद आचार्य, हलिम शाह, कैलाश यादव, हकिल हल्वाई, मनोज बर्मा र मीना ढकालको नाम सिफारिस गरिएको छ ।
त्यस्तै क्षेत्र नम्बर–३ (क) का लागि प्रेम सुवेदी, चन्द्र चौधरी र कन्चन गौतमको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर–३ (ख)बाट पदम धिताल, डिल्ली विसी, मीरा खनाल र भीम ओलीको नाम सिफारिस गरिएको छ । केन्द्रको निर्देशनानुसार नै उम्मेदवार छनोटको काम चलिरहेको नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसीले बताए ।
‘शनिबार प्रदेश निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरिएको छ,’ उनले भने । केन्द्रले तोकेको मापदण्डमा नै रहेर उम्मेदवार सिफारिस गरिएको उपाध्यक्ष विसीले बताए । प्रदेश कमिटीले सिफारिस गरेका नाम जिल्लामा आउने र जिल्लाले प्रदेशमा उम्मेदवारका नाम पठाउने नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिए । बाँकेमा तीन संघीय र ६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्