भारत बाराबंकीमा सवारी दुर्घटनाः बाँकेका तीनसहित चारजना नेपालीको मृत्यु



बाँके ।

भारतको उत्तर प्रदेश बाराबंकीमा भएको सवारी दुर्घटनामा बाँकेका तीनजनासहित चारजना नेपालीको ज्यान गएको छ ।

सीमावर्ती सहर रुपैडियाबाट गोवा जान लागेको युपी३२पिटी ३९४४ नम्बरको बसलाई तीव्र गति आएको ट्रकले ठक्कर दिँदा शनिबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा बाँके राप्तीसोनारी गाउँपालिका–५ विनौनाका दुई युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विनौनाका प्रेम थारु, शीतल थारु, नेपालगन्ज कारकाँदोका छविलाल ओली र दाङ तुलसीपुरका चक्रबहादुर ओली रहेको भारतीय प्रहरीलाई उदृत गर्र्दै बाँके प्रहरीले जनाएको छ ।

डबल डेकरको बस बारबंकी नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परेर बसमा सवार २४ जना नेपाली यात्रु घाइते भएका छन् ।

गम्भीर घाइते बाँके बैजापुरका ५० वर्षीय चन्द्रबहादुर रावत, ४० वर्षीय अमरबहादुर थारु, बारबर्दियाकी ३५ वर्षीया रीताकुमारी थारू, दाङका २८ वर्षीय कृष्ण, रुकुमका ४० वर्षीय कालीबहादुर र तनहुँका ४० वर्षीय हरिशरणको लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सल्यान घुइँयाबारीका २९ वर्षीय बहादुर राना, पद्मा राना, बाँके बिनौनाका १७ वर्षीय मनोज, मनमती कौर, १९ वर्षीय सुनिल थारू, १६ वर्षीय विजय थारू, १८ वर्षीय हरि योगी र सन्तोष पनि घाइते भएकाले उनीहरुलाई बाराबंकीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १९ गते आइतबार