नेपालगन्जमा पूर्वाधार नबन्दा सञ्चालनमा आएन नाथम



नेपालगन्ज । 

नेपालगन्जमा भौतिक पूर्वाधार नबन्दा पर्यटन तथा होटेल व्यवस्थापन अध्ययन प्रतिष्ठान नेपाल (नाथम)का शैक्षिक कार्यक्रम सञ्चालनमा आउन नसकेको प्रतिष्ठानका प्राचार्य राम कैलाश बिच्छाले बताएका छन् । नाथमका शैक्षिक कार्यक्रम सञ्चालनका सन्दर्भमा शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाले नाट्टा बाँकेसँगको सहकार्यमा आयोजना गरेको छलफल कार्यक्रममा बिच्छाले उक्त कुरा बताएका हुन् ।

उनले नाथमको गुणस्तर कायम राख्न उच्च गुणस्तरका ल्याब र पूर्वाधार चाहिने भएकोले आफ्नै पूर्वाधारसहितको भवन बन्नु आवश्यक रहेकोमा जोड दिए । छलफल कार्यक्रममा सरकारी स्वामित्वको प्रतिष्ठानका लागि नेपालगन्जमा जग्गा उललब्ध गराइएको र अस्थायीरुपमा एक विद्यालयको भवन उपलब्ध गराएर कार्यालय स्थापना भइसकेको दुई वर्षभन्दा बढी भइसक्दा पनि शैक्षिक कार्यक्रम सञ्चालन नभएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरे ।

सहभागीका जिज्ञासाको जवाफ दिँदै बिच्छाले नाथमका लागि उपलब्ध जग्गामा चाडोभन्दा चाडो पूर्वाधार बन्नु आवश्यक रहेको बताए । नेपालगन्ज उपमहानगरपालिकाले नाथमका लागि वडा नम्बर–१९ सोल्टी होटेल नजिकै जग्गा उपलब्ध गराएको छ । तर, उक्त जग्गामा विभिन्न धार्मिक समुदायको नाममा कब्जा छ । जग्गा प्राप्तिको प्रक्रिया अझै पूरा भएको छैन । नाथमको शाखा कार्यालय लागि एमपी स्कुल परिसरमा रहेको एउटा भवनमा राखिएको छ । नाथमका नेपालगन्ज प्राचार्य वीपीन नेपालका अनुसार अहिले रहेको भवनमा नाथमका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सकिने अवस्था छैन ।

अस्थायी नै भए पनि करिब डेढ करोडको नयाँ संरचना बनाएर कलेजका कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । वडा नम्बर १९ मा जग्गा प्राप्ति भएपछि डीपीआएर बनाएर नाथमको काठमाडौंमा रहेको स्तरकै संरचना बनाउनुपर्ने नेपालले बताए । नाथमका कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारले पूर्वाधारमा लगानी तथा समन्वयको भूमिका खेलिदिनुपर्ने नाट्टाका पूर्व केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले बताए ।

साथै मन्त्रीस्तरबाट नाथमका संरचना बनाउन आवश्यक बजेट विनियोजनको पहल हुनुपर्ने पनि उनको माग छ । कार्यक्रममा बोल्ने वक्ताहरुले नाथमका कार्यक्रम सञ्चालनमा ढिलाई गर्न नहुने, शुल्क सुलभ हुनुपर्ने, राजनीतिक पूर्वाग्रह नराखेर कजेजको अपनत्व ग्रहण गर्नुपर्नेलगायतका सुझाव प्रस्तुत गरेका थिए ।

छलफलमा बोल्दै प्रदेशसभा सदस्य आइपी खरेलले बाँके जिल्लाका सबै स्थानीय तहले अपनत्व लिएर नाथमलाई स्थापित गराउनुपर्ने बताए । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले अब नाथमका कार्यक्रम सञ्चालनका लागि आवश्यक सहकार्य गर्न उपमहानगरपालिका तयार रहेको बताए । साथै उनले आगामी दिनमा सहकार्यको साझा मोडेल बनाउन प्रयास गर्ने प्रतिबद्धता पनि जनाए । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले सहकार्यका लागि आफूहरु तयार रहेको बताए ।

४८ वर्षअघि स्थापना भएको नाथमले हाल पर्यटन र होटेल व्यवस्थापनसम्बन्धी मास्टर्स अफ हस्पिटालिटी म्यानेजमेन्ट, ब्याचलर अफ होल म्यानेजमेन्ट, ब्याचर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट गरी तीन प्रकारका कोर्षअन्तर्गत ९५ बढी विषयमा अध्यापन गराउने गर्दछ । नाथमले प्रदान गर्ने पर्यटनसम्बन्धी शिक्षालाई विश्वभरि नै उच्च मान्यता दिइने गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १८ गते शनिबार