बाँके ।
सुख्खा क्षेत्र घोषणा गरिएको बाँकेस्थित नरैनापुरको अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले स्थलगत अनुगमन गरेका छन् । सुर्खेतबाट काठमाडौं फर्किने क्रममा उनले नरैनापुर पुगेर सुख्खा क्षेत्रको स्थलगतरुपमा अनुगमन गरेका हुन् । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा सिँचाइ अभावमा धान रोपाइँ हुन नसकेपछि नरैनापुर गाउँपालिकाले पालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
सोही क्षेत्रको स्थलगत अनुगमन गर्न सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना), बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसहित स्थलगत अनुगमनमा अर्थमन्त्री शर्मा पुगेका थिए । अर्थमन्त्री शर्मालाई गाउँपालिका अध्यक्ष महोम्मद ईश्तियाक अहमद शाहले पानी नपर्दा किसानलाई पारेको प्रभावको बारेमा जानकारी गराएका थिए । उक्त अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यहाँको समस्याको बारेमा अब आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरिने प्रतिबद्धता जनाए ।
‘काठमाडौं पुगेलगत्तै यहाँको बारेमा मैले प्रधानमन्त्रीलाई जानकारी गराउँछु,’ उनले भने, ‘पानी नपर्दा यहाँको जमिन सुख्खाग्रस्त बनेको विषय मन्त्रिपरिषद् बैठकमा छलफल हुन्छ । मन्त्रिपरिषद् बैठकले यहाँको समस्याबारे केही निर्णय लिन्छ ।’ धान खेती गर्ने समय ढिलाइ भइसकेको बताउँदै उनले वैकल्पिक खेतीमा किसानले ध्यान दिनुपर्ने बताए । ‘अब धान खेती गर्दा सम्भव हुँदैन ।
यहाँ अब मकैखेती गर्दा यहाँ राम्रो उत्पादन हुन सक्छ,’ अर्थमन्त्री शर्माले भने, ‘त्यसका लागि चाहिने बीउ, मललगायतका आवश्यक साम्रगी उपलब्ध गराउन तयार छ ।’ नरैनापुरको दीर्घकालीन सिँचाइको लागि सिक्टा सिँचाइको नहर छिटो निर्माण गर्न अर्थ मन्त्रालयबाट बजेटको अभाव हुन नदिने उनले प्रतिबद्धता जनाए ।
तत्काल सिँचाइको लागि यहाँको अहिलेको अवस्थाबारे माथिल्लो निकायमा पत्राचार गर्न अर्थमन्त्री शर्माले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । ‘अहिले किसानलाई परेको समस्याको बारेमा के गर्नुपर्छ । यहीबाट प्रमुख जिल्ला अधिकारीलाई लिखितरुपमा गृह मन्त्रालयमा जानकारी गराउँन निर्देशन दिन्छुँ,’ उनले भने । डीप बोरिङका लागि सिँचाइ मन्त्रालयबाट माग भएर आएमा आवश्यक बजेट व्यवस्थापन गरिदिन आफू तयार रहेको अर्थमन्त्री शर्माले प्रतिबद्धता जनाए ।
प्रदेश सांसद कृष्णा केसी (नमुना)ले पीडित किसानलाई तत्कालै राहतको घोषणा गर्न अर्थमन्त्रीलाई आग्रह गरिन् । समयमै पानी नपर्दा किसानले खेती गर्न नपाएको बताउँदै उनले अल्पकालीनरुपमा भए पनि सिँचाइको व्यवस्थापन गर्नुपर्ने बताइन् ।
‘तत्कालै सिक्टाको पानी नरैनापुरमा आउने सम्भावना छैन,’ उनले भनिन्, ‘तत्कालका लागि भए पनि सरकारले डीप बोरिङका लागि भएपछि बजेट विनियोजन गर्नुपर्छ ।’ गाउँपालिका अध्यक्ष शाहले तत्कालको लागि एउटा वडामा तीनवटाका दरले डीप बोरिङ हुनुपर्ने बताए ।
सरकारले डीप बोरिङको लागि बजेट दिए अन्य खेतीका लागि किसानलाई सहज हुने उनले जानकारी दिए । ‘धान रोपाइँ नहुँदा भोकमरी आउनसक्ने समस्या देखिएको छ । अहिले नै मानिस घरमा केही खानेकुरा छैनन् भनेर आइरहेका छन्,’ पालिका अध्यक्ष शाहले भने, ‘डीप बोरिङको लागि मन्त्रीज्यूले बजेट छुट्याइदिनुहुन्छ भन्नेमा म आशावादी छुँ ।’ अर्थमन्त्री शर्मासहितको टोलीले पालिकामा रहेका ६ वटै वडाको स्थलगत अनुगमनसमेत गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्