कोहलपुर ।
स्वास्थ्यकर्मी फिर्ता पठाउने कोहलपुर नगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । स्वास्थ्यकर्मी फिर्ता पठाउने निर्णयको चौतर्फि विरोध र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अंकुशका कारण कोहलपुर नगरपालिका पछि हट्न बाध्य भएको हो ।
स्वास्थ्यकर्मी फिर्ता पठाउने निर्णय जसरी पनि कार्यान्वयन गराइ छाड्ने अड्डी कसेको नगरपालिका अन्नतः सर्वोच्च अदालतमा कर्मचारी समायोजनसम्बन्धी विभिन्न मुद्दाको फैसला भइ पूर्णपाठ आउन बाँकी रहेको बाहना गर्दै संस्थागतरुपमै पछि हटेको हो । उक्त निर्णयको स्वयम् फिर्ता पठाउने भनिएका १६ जना स्वास्थ्यकर्मीहरुले समेत विरोध जनाउँदै आइरहेका थिए ।
गत साउन ११ गते बसेको कार्यपालिका बैठकको निर्णय नम्बर १०को(ङ)मा ‘कोहलपुर नगरपालिकामा कार्यरत फाजील कर्मचारी व्यवस्थापनका लागि नेपाल सरकारबाट स्वीकृत दरबन्दीभन्दा बढी रहेका स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारीलाई नगरपालिकाबाट तलब भत्ता उपलब्ध गराउन नसकिने भएकोले त्यस्ता कर्मचारीलाई अन्यत्र व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने’ निर्णय गरेको थियो ।
नगरपालिकाले कार्यपालिका बैठकको निर्णयको हवला दिँदै साउन २३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दरबन्दीभन्दा बढी कर्मचारी फिर्ता पठाउने कार्यपालिका बैठकले निर्णय गरेको भन्दै पत्राचारसमेत ग¥यो ।
स्वास्थ्य मन्त्रालयले कर्मचारी व्यवस्थापनका लागि देशभरिका स्थानीय तहलाई पत्र लेख्दै कर्मचारी समायोजन मिलान मापदण्डबमोजिम स्वास्थ्य सेवाका कर्मचारीको समायोजन भइ दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीलाई सम्बन्धित पालिकाबाटै तलबभत्ताको व्यवस्थापन गर्न भनेको थियो । मन्त्रालयको पत्रको सम्बन्धमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले मन्त्रालयको परिपत्रको कुनै तुक नभएको बताएका थिए ।
तर, नगरप्रमुख आचार्य कै उपस्थितिमा बसेको भदौ १० गतेको कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकले कोहलपुर नगरपालिकामा नेपाल सरकारको स्वीकृत दरबन्दीभन्दा बढी रहेका स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारीलाई कार्यपालिकाको २०७९ साउन ११ गतेको बैठकको निर्णयअनुसार मिति २०७९ साउन २३ गते पत्रबाट मन्त्रालयमा फिर्ता पठाउने पत्राचार गरिएकोमा हाल सर्वोच्च अदालतबाट कर्मचारी समायोजनसम्बन्धी विभिन्न प्रकृतिका मुद्दाहरुका फैसला भइ पूर्णपाठ आउन बाँकी रहेकोले सो पूर्णपाठ आएपश्चात अर्को निर्णय नभएसम्मको लागि हाल उक्त पत्र कार्यान्वयन नगरी निजहरुलाई यथावत जिम्मेवारीमा रही कामकाज गराउने निर्णय गरेको छ ।
यसअघि फिर्ता पठाउने निर्णय गरिएका स्वास्थ्यकर्मीहरुले नगरप्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाललाई आफूहरुलाई नहटाउन माग गर्दै आएका थिए ।









प्रतिक्रिया दिनुहोस्