वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाको त्रिवेणीमोडस्थित चाइना बजारको जमिनका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले पनि अनुसन्धान सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले एक व्यक्तिलाई हचुवाका भरमा जमिनको हकभोग दिने निर्णय गरेकोबारे मिसन टुडे राष्ट्रिय दैनिकमा प्रकाशित समाचारका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको हो ।
कार्यालयका सूचना अधिकारी श्रीधर टण्डनका अनुसार मिसन टुडेमा प्रकाशित समाचारका आधारमा जाहेरी तयार गरेर कार्यालयले केन्द्रमा पठाएको छ । केन्द्रमा एक चरणको अध्ययन भएर विस्तृत अध्ययन गर्ने नगर्नेबारे निर्णय दिइने नियम छ । केन्द्रले विस्तृत अनुसन्धान गर्नु भनेर निर्देशन दिएपछि सम्पर्क कार्यालय नेपालगन्जले अनुसन्धान अघि बढाउने टण्डनले बताए ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाले पनि उक्त जग्गाको वास्तविकताबारे कागजातहरु संकलन गरेको जनाएको छ । नापी तथा उपमहानगरपालिकामा भएका कागजातहरु संकलन गरेर अध्ययन अघि बढाइएको उपमहानगरपालिकाको नापी शाखाका नापी अधिकृत मनराज थापाले जानकारी दिए । तत्कालीन नगर विकास समितिसँग पनि जानकारी माग गर्दै पत्र लेखिएको थापाले बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने उक्त जमिन आफ्नो भएको भन्दै केही व्यक्तिहरु लागिपरेका छन् । तीमध्येका एक व्यक्तिले उक्त स्थानमै आफ्नो १.२५ धुर जमिन भएको दाबी गर्दै आएकोमा २०७८ साल मंसिर १३ गते नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिकाले हचुवाका भरमा फिल्डमा नापजाँच नगराइकनै ती व्यक्तिलाई जमिन हकभोग गर्न दिने निर्णय ग¥यो ।
त्यसपछि ती व्यक्तिले करिब पौने २ कठ्टा क्षेत्रफल रहेको उक्त जमिनमा बसोबास गर्दै आएका सबै पसलेहरुबाट भाडा आफूले पाउनुपर्ने दबाब दिन थाले । अर्काेतिर उपमहानगरपालिकाले करिब १० वर्षसम्म उक्त जमिनमा घुम्तीमा व्यापार गर्दै आएका पसलेहरुबाट भाडा पनि उठाएको छ । २०६२ सालदेखि उक्त स्थानमा घुम्ती पसलहरु राखेर व्यापारीहरुले व्यापार गरिरहेका छन् । अहिले त्यहाँ करिब २८ पसलहरु सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्