‘एक्लै चुनाव लड्न सक्षम छौं’ सभापति गौडेल



बाँके ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । नेपाली कांग्रेस बाँकेले शुक्रबार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा सो कुरा बताएका हुन् ।

सभापति गौडेलेले भने, ‘हामी एक्लै चुनाव लड्न सक्षम छौं, संघका तीन र प्रदेशका ६ निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै जीत हासिल गर्न सक्ने अवस्थामा छ ।

तर, केन्द्रले सत्तारुढ दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय कार्यान्वयनका लागि निर्देशन गरे हामी त्यसमा पनि प्रतिबद्ध हुनेछौं ।’ बाँकेमा एक्लै चुनाव लड्ने सन्देश केन्द्रीय नेतृत्वलाई दिइसकेको समेत उनले बताए ।

सभापति गौडेलले स्थानीय चुनावमा हासिल गरेको उपलब्ध अभूतपूर्व रहेको बताउँदै आउने चुनावमा पनि यस्तै सुखद नतिजा हात पार्ने अभियानमा अर्जुनदृष्टिका साथ लागेको बताए ।

उनले बाँकेका पत्रकारहरुले तटस्थ र निष्पक्ष समाचार सम्प्रेषण गरेर स्वस्थ पत्रकारिताको अभ्यास गरिरहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

त्यस अवसरमा कान्तिपुर टेलिभिजनको वरिष्ठ उपसम्पादकमा बढुवा भएका वरिष्ठ पत्रकार जे पाण्डेलाई सभापति गौडेलले खादा ओढाएर सम्मान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ११ गते शनिबार