चर्चित मोडल अञ्जलीका गुमनाम आमाबुवा



शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर–११ स्थित हरियाली मार्गमा छ, ‘अञ्जली खाजा एण्ड नास्ता घर ।’ यो खाजा घर मिठो परिकारका लागि चर्चित छ । यहाँ विभिन्न परिकारका नास्ता पाइन्छन् । उमेरले पाँच दशक पुग्न लागेका एक दम्पतीले खाजा घर सञ्चालन गर्दै आएका छन् । उनीहरु हुन्, ‘४९ वर्षीया शान्ता बराल अधिकारी र शिव अधिकारी ।’

बर्दियाको बढैयाताल–३ का अधिकारी दम्पती ६ वर्षदेखि कोहलपुरमा व्यवसाय गर्दै आएका छन् । उनीहरुको पुख्र्यौली घर भने पोखरा हो । शान्ता आफ्नो पुर्खा पोखराबाट बर्दिया बसाइँसराइ गरेर आएको बताउँछिन् । शान्ताका तीन सन्तान छन् । जेठो छोरा महेन्द्र बर्दियामा मिल चलाउँछन् । बुहारी कस्मेटिक व्यवसाय गर्छिन् । जेठी छोरी सिर्जना पाण्डे सपरिवार अमेरिकामा बस्दै आएका छन् ।

कान्छी छोरी हुन्, ‘२५ वर्षीया अञ्जली अधिकारी ।’ शान्ता र शिवलाई आफ्नो नाम कम अञ्जलीका आमाबुवाका रुपमा बढी चिन्छन्, सबैले । उनीहरु लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अञ्जली अधिकारीका आमाबुवा हुन् ।

अञ्जली शान्ता र शिवका तीन सन्तानमध्येकी कान्छी छोरी । एक चर्चित मोडलका आमाबुवाको दैनिकी भने गुमनाम जस्तै छ । उनीहरु सामान्यरुपमा आफ्नो जीविकोपार्जन गरिरहेका छन् । अञ्जलीकी आमा शान्ता भन्छिन्, ‘छोराछोरा सबै आआफ्नो क्षेत्रमा सफल छन् । उनीहरु आफ्नो कर्म गरिरहेका छन् । हामी बुढाबुढी पनि कोहलपुरमा खाजा घर सञ्चालन गर्दै आएका छौँ ।’

यो उनीहरुको बाध्यता होइन । बरु रहर चाहिँ हो । बुवा शिव अधिकारीले उमेरले साथ दिएसम्म व्यवसाय मै लाग्ने बताए । ‘यो हाम्रो बाध्यता होइन, बरु रहर चाहिँ हो । छोराछोरी आफ्नो काममा व्यवस्त छन्,’ उनले भने, ‘हामी पनि खाली बस्नुभन्दा व्यवसाय गरौँ भनेर कोहलपुरमा बसिरहेका छौं । उनी लामो समयदेखि ढाड दुख्ने समस्यासँग गुज्रिरहेका छन् ।

शान्ताले अप्रेसन गर्दासमेत राम्रोसँग सञ्चो नभएको बताइन् । उनका अनुसार बेलाबेला चेकअप गरिरहनुपर्छ । तर, पनि आफूलाई व्यवसायमा सघाइरहेको पनि बताइन् । ‘व्यवसायमा आफूहरु सन्तुष्ट रहेको उनले बताइन् । छोरीले हामीलाई काम नगर्न भन्छिन् । बिनाकाम बस्नुभन्दा हाम्रो रहरले काम गरिरहेका छौं,’ मिसन टुडेसँग उनले भनिन् ।

उनले आफूहरुलाई सबैले अञ्जलीको आमाबुवाको रुपमा चिन्ने बताइन् । आफ्नी कान्छी छोरीको नामले चिनिन पाउँदा गर्व महसुस हुने उनको भनाइ छ । छोरीको चर्चा र प्रगति देख्दा आफू कहिलेकाहिँ भावुकसमेत हुने उनले सुनाइन् । बेलाबेलामा अञ्जलीले काठमाडौं बोलाउँछिन् । विभिन्न ठाउँमा घुमाउँछिन् । ‘सुटिङ स्पट’मा समेत लिन्छिन् ।

त्यहाँ पुग्दा सबैले अञ्जलीको आमाबुवाको रुपमा अपार माया गर्नेसमेत शान्ताले जानकारी दिइन् । ‘आफ्नो सन्तानको प्रगतिमा आमाबुवा खुसी नहोलान् । त्यस्तै खुसी हाम्रा दम्पतीलाई छोरीले दिएकी छ । हामीले सोचेभन्दा पनि राम्रो काम गरेकी छ । खुसी छौँ,’ उनले सुनाइन् । शान्ताले अञ्जली सानैदेखि नाचगानमा रुचि राख्ने बताइन् । गाउँमा कार्यक्रम र भजनका गीत बज्नबित्तिकै अञ्जली त्यहाँ पुग्थिन् । शान्ताका अनुसार घरमा अञ्जलीलाई नाचगानमा परिवारको सहयोग थिएन । सबैले पढाइमा ध्यान दिन भन्थे ।

तर, अञ्जलीलाई लुकेर हरेक कार्यक्रममा पुग्नै पथ्र्यो । विद्यालय स्तरमा हुने कार्यक्रममा उनी जहिले पनि प्रथम हुन्थिन् । मनोरञ्जन क्षेत्रमा छोरीको पहिलेदेखि चासो रहेको र आफ्नो रुचिअनुसार नै अघि बढिरहेको शान्ताको भनाइ छ । चर्चित मोडलका गुमनाम आमाबुवाहरुको व्यवसाय ठीकै चलिरहेको छ । दैनिक न्यूनतम् आठदेखि १० हजारसम्म कमाइ हुने उनले बताइन् । घरभाडा २० हजार तिरेर राम्रै कमाइ भइरहेको उनको भनाइ छ ।

अञ्जलीलाई कन्यादान गर्ने धोको

अञ्जली अधिकारीका लागि आठ वर्ष अघि बर्दियामा भएको महोत्सव जिन्दगीको ‘टर्निङ प्वाइन्ट’ भइदियो । त्यहाँ बद्री पंगेनी, पशुपति शर्मा, शंकर विसीलगायत उपस्थित थिए । सानैदेखि नाच्न रुचाउने अञ्जली अधिकारी पनि उक्त महोत्सवसम्म पुगिन् ।

बद्री पंगेनीको गीत गाउने पालो आयो । हातमा माइक समातेर बद्रीले बोले, ‘मैले जबसम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिन्छुँ,’ बद्रीले गीत गाउन सुरु गरे ।

अञ्जलीलगायतका धेरै सहभागी पुरस्कारका लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु थाके । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र पाँच सय रुपैयाँ पुरस्कार पाइन् । त्यसपछि उनमा अभिनयको भोक जाग्यो ।

२०७२ सालमा एसएलसी परीक्षा दिएपछि अञ्जली भागेर काठमाडौं आइन् । बद्री पंगेनीलाई सम्पर्क गरेपछि उनकै निरमाया दोहोरी साँझमा काम पाइन् । एक वर्ष काम गरेपछि बद्रीले एउटा गीतमा अभिनय गर्ने अवसर दिए । अञ्जलीले अहिलेसम्म सयौँ गीतमा अभिनय गरिसकेकी छन् । ‘बोल माया’ गीतले उनलाई एकाएक ‘सेलिब्रेटी’ बनायो ।

त्यसपछि उनले पछाडि फर्केर हुर्नुपरेको छैन । उनकी आमा भन्छिन्, ‘छोरीले प्रगति गर्दै गएकी छन् । अझै प्रगति गर्दै जाउनू भन्ने हाम्रो आसा छ । तर, उमेर पनि भइसक्यो । कान्छी छोरीलाई कन्यादान दिने धोको छ ।’ तर, अञ्जलीले अझ दुई/चार वर्ष मोडलिङमै क्रियाशिल रहने भन्दै विवाह तत्कालको योजना नभएको बताएकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ११ गते शनिबार