बाँके क्षेत्र नम्बर २ मा राप्रपा र एमालेको सहकार्य प्रयास



नेपालगन्ज ।

केन्द्रीय तहमा सत्तारुढ दलहरुले भनेको जस्तै गठबन्धन सफल भएमा बाँकेमा गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा माओवादी, क्षेत्र नम्बर २ मा जसपा र क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवारले टिकट पाउने बताइएको छ ।

एमालेलाई बाँके क्षेत्र नम्बर २ मा बलियो प्रतिस्पर्धी खोज्न सकस भइरहेको स्रोतले बताएको छ । यस क्षेत्रमा एमाले जिल्लामा सबैभन्दा कमजोर छ । यस्तो अवस्थामा एमालेले क्षेत्र नम्बर २ मा राप्रपाका महामन्त्री डा। धवलशमशेर राणालाई समर्थन गरेर अरु क्षेत्रमा राप्रपाको सहयोग लिनसक्ने सम्भावना रहेको बताइएको छ ।

राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटा एमालेसँग सहकार्यका विषयमा केन्द्रमा एमाले अध्यक्ष र राप्रपा अध्यक्षबीच एक चरणको छलफल भएको बताउँछन् ।

‘अहिलेको अवस्थामा कांग्रेस, माओवादीजस्ता ठूला दलहरुले आफ्नो शक्ति नचिनेर गठबन्धनको सहारा लिइरहेका बेला हामीले सहकार्य नगर्ने भन्ने हुँदैन । यस विषयमा हामीले सबै निर्णय गर्ने जिम्मा पार्टी अध्यक्षज्यूलाई दिएका छौँ । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक-दुई चरणको भेट पनि गरिसक्नुभएको छ,’ देवकोटाले भने ।

उनले राप्रपाले पनि बाँकेका सबै प्रतिनिधि र प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिनेगरी तयारी भने सुरु गरिसकेको बताए । क्षेत्र नम्बर २ मा गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता एवम् भौतिक पूर्वाधार मन्त्री मो। ईश्तियाक राईको उम्मेदवारी निश्चित जस्तै छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ८ गते बुधबार