कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बासहित जुम्लाका धामी पक्राउ



कञ्चनपुर ।

कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्। जुम्लाको कनिकासुन्दरी गाउँपालिका–३ का ५७ वर्षीय बिर्ख धामी शनिबार १५० ग्राम तौल भएको भालुको पित्त र २५ ग्राम यार्सागुम्बासहित पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त खटिएको टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ स्थित बनदेवी मन्दिरको छेउबाट भालुको पित्त फेला पारेको थियो।

थप अनुसन्धान गर्दा कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको उनको डेराबाट थप ५०० ग्राम यार्सागुम्बा फेला पारी धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई बरामद भएको सामग्रीसमेत अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ८ गते आइतबार