खप्तडमा पर्यटकको घुइँचो



कैलाली । 

खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका हुन् । खप्तड क्षेत्र हिमपातका कारण निकै रमणीय बनेको त्यहाँ गएर फर्किएका पर्यटक बताउँछन् । हिमपातपछि त्यहााँ डाँडाकाँडा निकै रमणीय तथा सेताम्मे भएका छन् ।

गएको पुस १४ गते पहिलोपटक हिमपात भएको खप्तड क्षेत्रमा माघ ५ गते रातिबाट पुनः हिमपात भएको खप्तड राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । खप्तडमा हिमपात भएपछि यहाँ आएका आन्तरिक पर्यटकहरु निकै रमाइरहेको निकुञ्जले जनाएको छ ।

हिमपातपछि रमाइलो गर्नका लागि दैनिक १२ देखि १५ जनासम्म आन्तरिक पर्यटक आउने गरेको झिग्रानाका स्थानीय हिरालाल साउँदले जानकारी दिए ।

‘हिमपात रोकिएको र दिउँसोको समयमा टलक्क घाम लाग्ने भएकाले पनि यहाँ पर्यटक आउने क्रम बढ्दै गएको छ’ उनले भने, ‘हिउँ परेकाले चिसो धेरै छ, दिउँसो घाम लाग्ने भएकाले यहाँ घुम्न आउने पर्यटक पनि दिनहुँ थपिँदै गएका छन्, अहिले यहाँको चहलपहल बढेको छ ।’

हिमपातका कारण खप्तड लगायतका क्षेत्रहरु सुन्दर देखिन थालिएका निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा मात्रै कम्तीमा पनि एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।

हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको खप्तड झिग्रानास्थित घरबासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए ।

‘गएरातिदेखि यहाँ हिमपात भएको छ, हिमपातले डाँडाकाँडा सेताम्मे भएकाले निकै रमणिय भएका छन् ।’ उनले भने । अबका केही दिनमा खप्तड घुम्न आउने पर्यटकलाई हिमपातले निकै आनन्द दिने उनको भनाइ रहेको छ ।

हिमपातले एकाएक चिसो बढेको स्थानीय बताउँछन् । खप्तडसँगै अन्य गाउँहरुमा पनि हिमपात भएकाले नागरिकलाई घरबाहिर निस्किन समस्या भइरहेको छ । वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक अवलोकन भ्रमणका लागि आएका छन् । हिमपातका कारण तापक्रम माइनस तीन डिग्री पुगेको बताइएको छ ।

खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयहरुले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १२ गते बुधबार