4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

बलात्कारको घटना मिलाउने जनप्रतिनिधि पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस २८, २०७८  

कैलाली ।

जर्बजस्ती करणीको घटना मिलापत्र गराउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

घोडाघोडी नगरपालिका–४ जनकपुरबाट वडा सदस्यसहित पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

घोडाघोडी नगरपालिका–४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, सोही वडाका वडा सदस्य लक्ष्मी रुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, स्थानीय व्यापारी राजु भट्टराई र जर्बजस्ती करणी गर्ने प्रकाश सुबेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको डिएसपी जोशीले बताए । उनले मिलापत्र गर्ने केही फरार रहेको र उनीहरूको खोजी कार्य भइररहेको बताए ।

गत मसिंर १५ गते सोही ठाउँकी ७७ वर्षीया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर जर्बजस्ती करणी गरेका थिए । घटना बाहिरीले डरले अर्को दिन पीडित पक्षलाई तीन लाख दिने भनेर मिलापत्र गरेका थिए ।

उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा पीडितका छोराले जाहेरी दिएपछि प्रतिवादी सहित मिलापत्र गराउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, पुस २८, २०७८     1:32:59 PM  |