30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

मानव तस्करीको बिगबिगी: बेचविखनको ‘ट्रान्जिट प्वाइन्ट’ जमुनाह नाका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस १७, २०७८  

पछिल्लो समय जमुनाह नाका मानव तस्कारका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । पहाडी क्षेत्रबाट महिलाहरुलाई सहजै यो नाकाबाट भारत लिन सजिलो हुँदा पनि मानव तस्करहरु यो सीमा नाका प्रयोग गर्ने गरेका छन् । माइती नेपाल नेपालगन्जमा पाँच सय २५ जनाका परिवारले खोजतलासका लागि निवेदन दिएका थिए ।

तिलक गाउँले । नेपालगन्ज ।

सल्यानकी २५ वर्षीय युवती नेपालगन्जस्थित जमुनाह हुँदै भारत छरिन् । करिब भदौमा घरबाट निस्किएकी उनको अवस्था कस्तो छ र कहाँ छिन्, आफन्तलाई अत्तोपत्तो छैन ।

‘उनी बेचिइन् वा कतै दुःखमा छिन् अहिलेसम्म सम्पर्कमा आएनिन्,’ यही विषयलाई लिएर उनका आफन्त विभिन्न निकाय धाउन छाडेका छैनन् । उनी मात्र होइन, पछिल्लो तथ्यांकअनुसार नेपालगन्जस्थित जमुनाह नाका प्रयोग गरेर पाँच २५ जना महिलाहरुलाई भारत पु¥याइएको छ ।

तिमध्ये दुई सय तीनजना परिवारको सम्पर्कमा आएका छन् भने तीन सय २२ जना महिलाको अवस्था अहिले पनि अज्ञात छ । माइती नेपाल नेपालगन्जले २०२१ को अन्तिम दिनअर्थात शुक्रबार सार्वजनिक गरेको तथ्यांक हेर्दा पछिल्लो समय जमुनाह नाका मानव तस्कारका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ ।

पहाडी क्षेत्रबाट महिलाहरुलाई सहजै यो नाकाबाट भारत लिन सजिलो हुँदा पनि मानव तस्करहरु यो सीमा नाका प्रयोग गर्ने गरेका छन् । माइती नेपाल नेपालगन्जमा पाँच सय २५ जनाका परिवारले खोजतलासका लागि निवेदन दिएका थिए ।

योबाहेक अरु धेरै महिलाहरु पनि यही नाका हुँदै भारतमा बेचिने गरेका छन् । यसमध्ये अधिकांश भारतमा रोजगारीका लागि जानेहरु नै छन् । मानव तस्करहरुले गाउँगाउँमा गएर विभिन्न प्रलोभनमा पार्ने र काम लगाइदिने भन्दै महिलाहरुलाई भारत प्रवेश गराउँछन् ।

त्यसरी भारत गएका महिलाहरु सम्पर्कविहीन हुने गरेको प्रहरीले जनाएको छ । नेपालगन्जस्थित जमुनाह नाकाबाट भारत तथा तेस्रो मुलुकमा पुगेका नेपाली महिला घर परिवारको सम्पर्कमा नआउने गरेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए ।

‘प्रायः बैदेशिक रोजगारमा गएकाहरु फर्केर नआएको, धेरै समयसम्म सम्पर्कमा नभएको वा अति नै दुःख पाएको भन्दै रोएर फोन गरेपछि हामीलाई खोजतलास र उद्दारका लागि निवेदन दिने गरिन्छ,’ कोइरालाले भने, ‘हामीले सकेसम्म उद्दार गर्छौं ।’ खोजतलासका लागि निवेदन दिएकामध्येमा फेला परेका दुई सय तीनजना भने भारत र नेपालमै फेला परेका उनले जनाए ।

माइती नेपाल नेपालगन्जका प्रमुख कोइरालाका अनुसार खोजतलासका लागि निवेदनलाई हेर्दा बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, सल्यानका बढी छन् । त्यसमध्ये पछिल्लो तथ्यांकमा सबैभन्दा बढी जोखिम सुर्खेतमा रहेको कोइरालाले बताए । माइती नेपालको तथ्यांकमा यसरी हराउने ब्राम्हण क्षेत्री अगाडि छन् । त्यसपछि दलित, जनजाति र आदिवासी छन् ।

उमेर समूहका अनुसार १८ वर्षभन्दामुनिका दुई सय ५५ जना छन् । मानव बेचविखनका लागि नेपालगन्ज र बर्दिया नाकालाई दलालले प्रयोग गर्ने गरेको पाइन्छ । पछिल्लो दिनमा जोखिमपूर्ण यात्रामा जाने महिलाले झोलासमेत बोक्न छोडेका छन् । दलाल त उनीहरु सँगसँगै हुँदैनन् ।
कोइरालाका अनुसार, जोखिमपूर्ण यात्रामा निस्केका चार सय ३४ जनालाई माइती नेपालले नाकाबाट फिर्ता गरेको छ ।

बेचविखनविरुद्धमा कानुनी कारबाही भने कमै हुने गरेको छ । जोखिममा परेका पीडितले नै प्रलोभनमा परेर दलाललाई बचाइदिने गरेको पाइन्छ । दलाललाई कारबाही गर्छु भनेर लाग्ने पीडित अन्तिममा आएर बयान फेर्ने गरेको कोइरालाले जानकारी दिए । यो वर्ष तीनजना पुरुषको समेत उद्दारका लागि उजुरी आएको उनले बताए ।

प्रकाशित मितिः शनिबार, पुस १७, २०७८     10:50:20 AM  |