20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

खप्तडमा बढ्दै पर्यटक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस १७, २०७८  

डोटी ।

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । खप्तडमा दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमण दर झन्डै शून्यमा पुगेसँगै यहाँ पर्यटक आउनेक्रम बढेको हो । अहिले खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ भएकाले पर्यटक आकर्षित हुन थालेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए । उनले भने, ‘अहिले खप्तड हेर्न लायक छ, यहाँका दृष्य अवलोकनका लागि भए पनि पर्यटक आउने क्रम बढेको छ ।’

कोरोना भाइरस संक्रमणको जोखिममा कमी भएपछि गएको वैशाखयता खप्तडमा कम्तिमा पनि आन्तरिक तथा बाह्य गरी तीन हजार पर्यटक भित्रिएको निकुञ्ज कार्यालयको तथ्यांकमा उल्लेख छ ।

खप्तड प्रवेशद्वार झिग्राना तथा बग्लेकमा पर्यटकका लागि घरबास होमस्टे तथा विश्रामस्थल निर्माण भएका कारण पनि पर्यटक आउने क्रम बढ्दै गएको पूर्वीचौकी गाउँपालिका–२ का स्थानीयवासी धनबहादुर विष्टले बताए । उनले भने, ‘खप्तडमा अहिले सडक र घरबास निर्माण भएकाले पर्यटकको आकर्षण बढेको छ, पर्यटक आउन थालेसँगै यहाँका स्थानीयवासीको आयस्रोतमा समेत वृद्धि हुँदै गएको छ ।’

यहाँ आएका पर्यटकलाई स्वागत गर्न र बास बस्नका लागि घर निर्माण भएकाले पर्यटक आउनेक्रम बढेको स्थानीयवासीको भनाइ छ । जिल्लामा कोरोना संक्रमण दर शून्यमा झरेको र पर्यटकका लागि बास बस्ने राम्रो व्यवस्था भएकाले खप्तडसहित यहाँका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउनेको संख्या अधिक रहेको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए । उनले भने, ‘पर्यटकका लागि हामीले अहिले यहाँ घरबास र यातायातको सुविधा मिलाएका छौँ, सुविधा पाउन थालेपछि पर्यटक आउनेक्रम बढेको छ ।’

अहिले खप्तड मनमोहक देखिने भएकाले पनि पर्यटक आउनेक्रम बढेको तथा निकुञ्ज पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको होटेल व्यवसायी संघका जिल्लाध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, ‘अहिले खप्तडको दृष्य मनमोहक छ, पर्यटकको प्रमुख रोजाइमा खप्तड परेकाले पर्यटकको आकर्षण बढेको हो ।’

निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिकस्थलका साथै विभिन्न जंगली जनावरसमेत देख्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुंगा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्र मनमोहक छन् । पर्यटकको सुविधाका लागि पूर्वीचौकी गाउँपालिका–२ बग्लेगसम्म प्रदेश सरकारले सडक सुविधा पु¥याइएको छ ।

बग्लेगबाट भने पर्यटकको मागअनुसार घोडाको व्यवस्था गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । खप्तड क्षेत्रमा रहेको खप्तड स्वामीको आश्रमको संरक्षण तथा संवद्र्धन स्थानीय तह, नेपाली सेना, स्थानीयवासी तथा खप्तड पर्यटन विकास समितिले गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको संगमस्थल बनेको निकुञ्जभित्र नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह (ताल), खप्तड बाबाको आश्रमका साथै विभिन्न किसिमका वनस्पति र चराचुरुंगी देख्न सकिन्छ ।

यसको क्षेत्रफल २२५ वर्ग किमी छ । समुद्र सतहबाट तीन हजार ५०० मिटरसम्म उचाइमा रहेको निकुञ्जभित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० मध्ये २६० भन्दाबढी चराचुरुंगी पाइन्छ । १५० मिटर लम्बाइ ५० मिटर चौडाइको खप्तड दहमा बाह्रै महिना पानीको सतह एकैनाशको हुन्छ । यहाँ अन्य ५२ दह छन् ।

निकुञ्जभित्र कस्तुरी, मृग, बँदेल, डाँफे, जरायो, रतुवा, थारल, घोरल, चितुवा, भालु, बाँदर, ढेडुबाँदर, दुम्सी, खरायोलगायत जंगली जनावर पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाएको त्यस ठाउँमा ठूल्ठूला घाँसे मैदान, ससाना ढिस्का र रमाइलो जंगल रहेको छ । यहाँ रहेका घाँसे मैदानमा गाई, गोरु, घोडा चर्न आउने गरेको देखिन्छ । जैविक विविधताले भरिएको यो क्षेत्रलाई २०४० मा राष्ट्रिय निकुञ्ज बनाइएको थियो ।

प्रकाशित मितिः शनिबार, पुस १७, २०७८     10:42:53 AM  |