18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

आज कहाँ-कहाँ बाढीको सम्भावना ? (सूचीसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ३, २०७८  

काठमाण्डाै ।

लगातारको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । मनसुन सक्रिय नै रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यसले गर्दा आज पनि ठूला तथा साना नदी, खोलामा बाढीको सम्भावना रहेको विज्ञले बताएका छन् ।

विज्ञले आज कोशी, नारायणी, कर्णाली र महाकालीलगायत केही नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिएका छन् ।  यस्तै, कन्काई, कमला, वाग्मती र यसका सहायक नदीमा पनि पानीको सतह घटबढ हुन सक्ने चेतावनी दिइएको छ ।

पश्चिम राप्ती, तिनाउ, बबईका स–साना नदीमा पनि पानीको बहाव बढ्ने हुँदा उच्च सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन् ।

यी क्षेत्रमा आज बाढीको जोखिम 

वाग्मती प्रदेश

आज वाग्मती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाण्डौ, चितवन र मकवानपुरका नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिइएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, स्याङ्जामा बाढीको जोखिम छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको दाङ, प्युठान, बाँके, बर्दिया, रुकुमका नदी तथा खोलामा पानीको बहाव बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, कालीकोट, जाजरकोट र हुम्लामा पनि बाढी आउने जोखिम छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका विभिन्न नदी तथा खोलामा पनि आज बाढी आउने सम्भावना छ ।

विज्ञका अनुसार त्यहाँको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजार, बझाङ र दार्चुला र आसपासका जिल्ला भएर बहने साना नदीमा पनि पानीको बहाव बढी आउने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।

अबको केही दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम उच्च रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्ले नदी तटीय क्षेत्रका बासिन्दा र भिरालो जमिनमा बसोबास भएकाहरुलाई सावधानी अपनाउन सुझाव दिएका छन् ।

प्रकाशित मितिः बिहिबार, असार ३, २०७८     2:00:19 PM  |