25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

सेना र निजी कम्पनीको हेलिकोप्टरले थाले उद्धार, घाइतेलाई धमाधम अस्पताल ल्याइँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २, २०७८  

काठमाडौं ।

मेलम्चीमा गएको बाढीका कारण अलपत्र र घाइते भएका सर्वसाधरणको उद्धारका लागि बुधवार विहानैदेखि नेपाली सेना र निजी वायुसेवा कम्पनीका हेलिकोप्टरले उद्धार उडान सुरु गरेका छन्।

भिषण बाढीका कारण डुबानमा परेका घरमै अलपत्र रहेका सर्वसाधरण र घाइतेको उद्धारका लगि बिहानै बाट हेलिकोप्टर परिचालन भइरहेको वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए।

‘नेपाली सेनाको हेलिकोप्टरसँगै यतिखेर विभिन्न संस्थाको पहलमा उद्धारका लागि निजी वायुसेवा कम्पनीको हेलिकप्टर परिचालन भइरहेको छ,’ प्रवक्ता शर्माले भने, ‘अलपत्र परेकालाई सुरक्षित ठाउँमा राखिएको छ। घाइतेलाई धुलिखेल अस्पतालमा ल्याएर उपचार गर्न सुरु गरिएको छ।’

उनका अनुसार नेपाली सेनाको हेलिकप्टरका अलावा सिम्रिक, श्री, अल्टिच्युड लगायत कम्पनीका हेलिकोप्टर उद्धार उडानमा परिचालित भएका छन्।

नेपाली सेनाको एमआई १७ बाट उद्धार सुरु गरिएको प्रवक्ता सन्तोषवल्लभ पौडेललले जानकारी दिए। उनका अनुसार मेलम्ची बजारमा पानीमा डुबेको घरको छतबाट तीन जनाको उद्धार गरिएको छ।

साथै पहिरो र बाढी दुवैबाट प्रभावित अन्य क्षेत्रबाट पनि सेनाले हेलिकप्टरबाट उद्धार गरिरहेको उनले बताए। ‘मेलम्चीमा दुई जना घरभित्रै फसेको भन्ने जानकारी आएको थियो। त्यसपछि हेलिकप्टर लिएर हाम्रो टोली पुग्दा अन्य एक जना पनि रहेछन्,’ उनले भने, ‘उहाँलाई पनि हामीलाई उद्धार गरेका छौं। अन्य ठाउँमा पनि अलपत्र भन्ने खबर आइरहेको छ। हामी उद्धारमा सक्रिय छौं।’

प्रकाशित मितिः बुधबार, असार २, २०७८     12:00:58 PM  |