20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सङ्क्रमितलाई पोषणयुक्त खाना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८  


डोटी – जिल्लाको आदर्श गाउँपालिकाका–१ चाँसी गाउँका कोरोना सङ्क्रमितलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । गाउँका कम्तिमा ९० जना नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि साइन नेपाल नामक गैह्रसरकारी संस्थाले पोषणयुक्त खानेकुरा वितरण गरेको हो । कोरोना सङ्क्रमित ९० जना तथा उनीहरूका ३० जना घरपरिवार गरी कुल १२० जनालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्क्रमितलाई अण्डा, चना, काजु, मल्टी भिटामिन, भिटामिन सि, तोरीको तेललगायतका पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । प्रतिव्यक्ति एक क्रेट अण्डा, दुई किलो चना, एक बोतल प्रोटिन, एक डिब्बा मल्टि भिटामिन, दुई पाकेट काजु, एक पोका तोरीको तेल र एक पत्ता भिटामिन सि गरी जम्मा १२० जना संक्रमितलाई पुग्ने गरी पोषणयुक्त खानेकुरा वितरण गरिएको बताइएको छ । सङ्क्रमितको इम्युनिटी पावरमा वृद्धि होस् र शारीरिक कमजोरी नहोस् भन्ने उद्देश्यका साथ पोषण वितरण गरिएको अध्यक्ष जोशीले बताउनुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार उक्त गाउँका ९५ जनाको कोभिड परीक्षण गर्दा ९० जनामा सङ्मण पुष्टि भएको छ । कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ । गाउँका अधिकांश नागरिकलाई सङमण पुष्टि भएपछि अन्य व्यक्तिले परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले जानकारी दिनुभयो ।

सङ्क्रमितको उपचारका लागि थप स्वास्थ्यकर्मी माग गर्न गाउँपालिकालाई स्वास्थ्य शाखाले आग्रह गरेको छ । जिल्लामा पछिल्लो केही हप्ता यतादेखि कोरोना सङ्क्रमण बढीरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल सम्म कोरोना सङ्क्रमितको सङ्ख्या कम्तिमा पनि एक हजार २०० रहेको छभने १७ जनाको ज्यान गइसकेको छ ।रासस

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८     8:40:43 AM  |