19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

पहुँचका भरमा १४ हजार खोप उमेर समूहबाहेकले लिए !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८  

काठमाडौं । काठमाडौं जिल्लामा ६० देखि ६४ वर्षका नागरिकलाई जेठ २५ गतेदेखि दिन सुरु गरिएको खोप अभियान लक्षित संख्याले नपाउँदै स्थगित भयो । काठमाडौं महानगरपालिकाले बिहीबार साँझ सूचना जारी गर्दै सरकारले खोप उपलब्ध गराउन नसकेपछि अभियान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरेको जानकारी गरायो ।

थप खोप उपलब्ध गराउन नसकिने जानकारी आएपछि महानगरको कार्यतालिकाभन्दा दुई दिनअघि नै अभियान स्थगित गर्नुपरेको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिए । महानगरको यही भनाइलाई काठमाडौं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बद्रीबहादुर खड्काले पुष्टि गर्दै भने “पालिकाहरूमा खोपको दुरुपयोग भएपछि लक्षित वर्गलाई दिन नपाउँदै खोप सकियो ।”

१४ हजार डोज खोप खोइ ?

चीनले अनुदानमा दिएको भेरोसेल खोप सरकारले जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सबै प्रदेश र जिल्लामा खोप पठाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा यो उमेर समूहका नागरिक ६ लाख ६२ हजार ३६७ जना खोप पाउने सूचीमा छन् । काठमाडौं जिल्लाका लागि मात्रै ६४ हजार डोज खोप छुट्याइएको थियो । जुन देशभरकै सबैभन्दा बढी मात्रामा छुट्याइएको खोप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।

स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकमा बुधबारसम्म काठमाडौंमा ३३ हजार जनाले खोप लगाएका छन् । बिहीबार झन्डै १७ हजारले खोप लिएको कार्यालय प्रमुख बद्रीबहादुर खड्का बताउँछन् । यस हिसाबले बिहीबारसम्म ५० हजारभन्दा बढी संख्याले खोप लिएको देखिँदैन तर बाँकी १४ हजार डोज खोप कहाँ गयो अहिले मन्त्रालयका लागिसमेत खोजीको विषय बनेको छ । खोप केन्द्रहरूबाट लक्षित उमेर समूहभन्दा अन्य व्यक्तिलाई समेत वितरण गरिएको हुनसक्ने मन्त्रालयका प्रवक्ता पौडेल बताउँछन् ।

‘खोप अन्य उमेरका व्यक्तिलाई दिन मेयरकै धम्की आयो’

अहिलेको खोप ६० देखि ६४ वर्षका नागरिकलाई दिने गरी पालिकाहरूमा पठाइएको थियो । तर, केही पालिकाहरूबाट ५५ वर्षमाथिका नागरिकलाई समेत खोप दिन दबाब दिँदै आएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख खड्काले बताए ।

“नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले जेठ २५ गते मलाई फोन गरेर हाम्रो पालिकाका ५५ वर्ष माथिका नागरिकलाई पनि खोप दिनुपर्यो, सोहीअनुसार पुग्ने खोप पठाइदिन भन्नुभयो । मैले सरकारको मापदण्ड बाहेकका अन्य व्यक्तिलाई खोप दिन मिल्दैन भनेँ । जवाफमा उहाँले यहाँ हाम्रो सरकार छ, मलाई प्रधानमन्त्रीले दिन्छु भन्नुभएको छ, मिल्दैन भन्ने तँ को हो ? तँलाई त्यही अफिसमा आएर ठिक गर्छु र म को हो भनेर देखाइदिन्छु भन्दै अपशब्द बोल्दै थप खोप पठाइदिन धम्की दिनुभयो । अन्य पालिकाहरूमा पनि लक्षित समूहभन्दा बाहेककाले खोप लगाएको हाम्रा स्वास्थ्यकर्मीले सुनाएका छन् । स्थानीय तहले मापदण्ड मानेका छैनन्, हामी हेर्ने, सुझाव दिने र फर्किने मात्रै हो,” खड्काले भनेका छन् ।

उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदै सुरक्षा माग गरेका छन् ।

खोपको वास्तविकाताबारे अबको अनुसन्धान र कारबाहीको पाटो जिल्ला प्रशासन कार्यालयको भएको मन्त्रालयका प्रवक्ता पौडेल बताउँछन् ।

यता, नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भने आफूले कसैलाई धम्की नदिएको दाबी गर्छन् । “मैले कसैलाई धम्की दिएको छैन । जनतालाई खोप नदिने अनि अनि कानुनको कुरा गर्ने ?,” मेयर बस्नेतले बाह्रखरीसँग भने, “मैले जनतालाई खोप मागेको हो । अरु केही भनेको छैन । कानुनको कुरा कसरी आयो, मलाई थाहा छैन ।”

जनताको जीवन रक्षाका लागि पहल गर्दा कानुनी कारबाही भोग्नु परे आफू तयार रहेको उनले बताए ।

“मैले ५० वर्षमाथिका नागरिकलाई खोप उपलब्ध गराउनुपर्यो भनेर प्रधानमन्त्रीसँग पनि भेटेर कुरा गरेको थिएँ । मेरो मागमा सकारात्मक रहँदै उहाँले सम्बन्धीत ठाउँमा पहल गर्नुस् भन्नु भएको थियो,” उनले भने, “मैले सोही अनुसार खोप माग्दा म पठाउँदिन मिन्दैन भन्ने जवाफ आयो । जनताको रक्षाका लागि पहल गर्दा राज्यले दण्डस्वरुप मलाई कारबाही गर्छ भने म भोग्न तयार छु ।”

आफ्नो नगरपालिकामा हालसम्म दुई हजार नौसयमा कोरोना संक्रमण देखिएको र ४४ जनाको मृत्यु भएको उनले बताए । परीक्षण गराउनेभन्दा नगराउने संक्रमित धेरै रहेको भन्दै उनले विभागसँग खोप उपलब्ध गराउन अथवा ५ करोडको खोप किन्ने कानुनी व्यवस्था नगरपालिकालाई मिलाइदिन आग्रह गरेको बताए । @baahrakhari.com

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८     11:38:56 AM  |