21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

‘दोषीलाई कारबाही र हाम्रो सुरक्षा होस्’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८  

कोरोना महामारीको फ्रन्टलाइनमा खटिरहेका छन्, स्वास्थ्यकर्मी र डाक्टर । उनीहरु नै कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा अग्र पंक्तिमा खटिएर काम गरिरहेका छन् । तर बेला बेलामा कोरोना संक्रमितको ज्यान जोगाउन आफ्नो ज्यानको समेत प्रवाह नगरी ड्युटीमा खटिएका स्वास्थ्यकर्मी माथि कुटपिटका घटना घट्ने गरेका घटना बाहिरिन्छन् । यस्तै घटना घट्यो, बाँकेको भेरी अस्पतालमा समेत ।एकसाता अघि आफन्तको मृत्यु प्रकरणलाई एक उत्तेजित हुलले ड्युटीमा खटिएका स्वास्थ्यकर्मी माथि हातपातका साथै कुटपिट समेत गरे । नेकपा एमालेका एक नेताको अगुवाईमा भएको उक्त आक्रमणमा स्वास्थ्यकर्मीहरुले झ्यालबाट हाम फालेर तथा ट्वाइलेटमा लुकेर समेत ज्यान बचाएका थिए । घटना लगत्तै तीन जना दोषीलाई पक्राउ गरिएको छ । यस्तै घटनाको विषयमा छानविन गर्ने भन्दै बाँकेका सहायक सिडियोको संयोजकत्वमा समिति बनेको थियो । उक्त समितिको प्रतिवेदनले अस्पताल प्रशासनको लापरबाहीका कारण घटना घटेको निष्कर्ष सहित प्रतिवेदन पेस गरेको छ । एकसातादेखि स्वास्थ्यकर्मीहरुले दोषी माथि कारबाही र पेसागत सुरक्षाको माग गर्दै शान्तिपूर्ण विरोध गरिरेहका छन् । सरकारले कोरोना महामारीको बेलामा समेत सुरक्षा दिन नसकेको उनीहरुको गुनासो रहेको छ । भेरी अस्पताल प्रकरण, स्वास्थ्यकर्मीहरुको सुरक्षा र दोषी माथि कारबाही र शान्तिपूर्ण विरोधका विषयमा नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डाक्टर विनोद कर्णसँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माको कुराकानी :

१.कोरोनाको महामारीको समय छ, दैनिकी कसरी बितिरहेको छ ?

पक्कै पनि अहिले कोरोनाको महामारी छ ।हामी स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनरको रुपमा काम गरिरहेका छौँ ।विहान नौँ बजेदेखि पाँच बजेसम्मका लागि नियमित ड्युटी गरिरहेका छौँ । अझै पनि कोरोनाको त्रास बाँकी नै छ । हामी कर्तव्य पालना गर्ने मामिलामा हामी निकै संवेदनशिल छौँ । यस्तो अवस्थामा पनि हामीले आफ्नो कर्तव्य पालना गरेनौँ भने हाम्रो पेसा माथि नै प्रश्न चिन्ह खडा हुन्छ । त्यसैले हामी सबै स्वास्थ्यकर्मीहरु आवश्यक स्वास्थ्य सुरक्षा सहित काम गरिरहेका छौँ । सधै बिरामीसँगै हुन्थ्यो । बिरामीको सेवा गर्नु हाम्रो कर्तव्य हो । जोखिम र असुरक्षाका बावजुत पनि हामीले धर्म भुलेका छौँ । बिरामीको उपचार गछौँ आफ्नो अधिकारका लागि आवाज समेत उठाउँदै आएका छौँ । यो क्रम चलिरहेको छ ।

२. तपाईंहरुले गरिरहनु भएको शान्तिपूर्ण विरोधको उद्देश्य के हो ?

हामी आफ्नो ड्युटीमा थियौ । गत १३ गते जुन घटना घट्यो । त्यौ निकै दुभाग्र्यपूर्ण हो । आइसियू भित्रै नै त्यस्तो घटना हुनु भनेको निकै गम्भीर कुरा हो । विकशित राष्ट्रहरुमा सरकारले आफ्ना जनताको सुरक्षाको जिम्मा लिएको हुन्छ । हाम्रो जस्तो अल्पविकसित देशहरुमा यस्तो घटना बेला बेलामा भइरहेका छन् । यस्ता घटनाले यहाँको वास्तविक अवस्था झल्काइरेको हुन्छ । सरकारले साधन र स्रोत जोहो गर्न नसकेको बेलामा हामीले सीमित स्रोतको अधिकतम प्रयोग गरेर काम चलाइरहेका छौँ । आवश्यक सामग्री अभावको समस्या अहिलेको होइन ।
तर सरकारले जुन किसिमले यसको तयारी गर्नु पर्ने हो । त्यसो हुन सकिरहेको छैन । हाम्रो ध्यान सकभर बिरामीको ज्यान बचाउने नै हुन्छ । तर बिरामीको मृत्यु भएपछि गरिने विरोध र तोडफोडले हामीलाई काम गर्न बाधा गरिरहेको पाइरहेका छौँ । यसमा सरकार बडो गम्भीरताका साथ लाग्नु पर्ने हो । तर नेताहरु कुर्सी कै लडाइमा व्यस्त देखिन्छन् । यस्तै घटनामा भेरीमा घट्यो । आफ्रना स्टार्फ माथि नै हमला गर्ने जस्ता जघन्य अपराध गरिएको छ । हामीले दोषी माथि कारबाही होस भनेका छौँ । दोषीलाई छुट्न दिनु हुँदैन भनेर हामी तर्फबाट र अस्पतालको तर्फबाट किटानी जाहेरी दिएका छौँ । माग सम्बोधन हुनुपर्छ हाम्रो भनेका छौँ । उक्त प्रक्रिया छानविनमा गइरहेको छ । पुलिसले पनि आफ् तर्फबाट अनुसन्धान गरिसकेको छ । प्रतिवेदन समेत सार्वजनिक भइसकेको छ । यसमा सजायका विषयमा बोलेको छ । अरु भेरी अस्पतालको लापरबाहीका कारण भएको भनिएको छ । यो आपत्तिजक विषय हो ।

३. सरकारी समितिको प्रतिवेदनमा अस्पताल प्रशासनको कमजोरीका कारण भएको भनिएको छ, त्यसो भए स्वास्थ्यकर्मीहरु कै कमजोरी थियो त ?

अस्पतालले कमजोरी गरेका कारण यस्तो अवस्था भएको हो भन्नु राम्रो कुरा होइन । अस्पतालले सकेजति सेवा दिइरहेकै थियो । हामीले पनि आफ्नो क्षमता भ्याएसम्म काम गरिरहेका छौँ ÷ थियो । आवेगमा आएर कसैको ज्यानै लिने कुरा सामान्य हुन सक्छ । मान्छे त यहाँ हामीले बचाउन चाहदा चाहदै सयौ जना मरेका छन् । मान्छे मरेपछि अर्को मान्छेलाई मार्न खोज्नु त अपराध हो नी । प्रतिवेदनले त झन हामीलाई दुःखी बनाएको छ । हामीले सोचे अनुसार प्रतिवेदन आउन सकेन । हामीले त सिधै दोषी करार गरेका छौँ । सिडिओ साबले किन त्यो कुरा सार्वजनिक गर्नु भएको छैन । छिटो भन्दा छिटो यर्थात कुरा बाहिर आयोस । हाम्रो पेसाको सुरक्षा होस । यसमा राजनीतिकरण नगरिओस ।

४. स्वास्थ्यकर्मीहरुको विरोधलाई लक्षित गरेर भेरी अस्पताल विकास समितिका अध्यक्षको अभिव्यक्तिका सम्बन्धमा तपाईंहरुको प्रतिक्रिया के हो ?

यो हाम्रो शान्तिपूर्ण विरोध हो । हामीले आफ्नो अधिकारको सुनिश्चितताको माग गरेका छौँ । अरुको भाग मागेका छैनौँ । अध्यक्ष ज्यूको अभिव्यक्तिको विषयमा हामीले पनि थाहा पायौँ । उहाँले आफ्नो मनमा लागेको कुरा गर्नु भएको छ । उहाँहरुको मान्छेले लेख्दाँ ध्यान दिनुपर्ने कुरा स्वयम उहाँले बुझ्नुपर्छ भन्ने मेरो धारणा रहेको छ । उहाँले धम्की समेत दिनु भएको छ । उहाँहरुको धम्कीले डराउनेवाला कोही पनि छैन । हामीले उहाँहरुको धम्कीप्रति चासो पनि दिएका छैनौँ ।काग कराउँदै गर्छ पिना सुक्कै गर्छ ।हाम्रो माग भनेको स्वास्थ्यकर्मीहरुको भय रहित वातावरणमा काम गर्न पाउन भन्ने रहेको छ । अकारण आक्रमण हुन नपायोस । जघन्य अपराध गर्नेलाई कारबाही गरिओस ।उनीहरुलाई कानुनी दायरामा ल्याउनु प¥यो । स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कडा कानुन बनाएर कारबाही होस भन्ने हाम्रो माग रहेको छ । आफू जिम्मेवार रहेको संस्थामा घटेको घटना प्रति उहाँ आफै जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने हो तर हुनु भएको छैन । केही कमजोरी भए सच्चाउन तर्फ उहाँ लाग्नु पर्छ भन्ने हाम्रो बुझाई हो । उहाँको अभिव्यक्ति अपाच्य हो । बेर्थको कुरामा हामी समय खेर पाल्दैनौँ ।

५. उहाँले घटनालाई राजनीतिकरण गर्न खोजिएको पनि भन्नु भएको छ, त्यो भनेको स्वास्थ्यकर्मीले राजनीति गरे भन्न खोज्नु भएको त होइन ?

उहाँ त आफै पनि राजनीतिसँग केन्द्रीत मान्छे हो नी त । अध्यक्ष त राजनीतिक पद हो । लोकसेवा फाइट गरेर आउनु भएको होइन नी । टिका लगाएर आर्शिवाद लिएर आउनु भएको हो । उहाँले राजनीति बाहेक अरु के देख्नु हुन्छ त्यहाँ । नाटक र नौटंकी शब्द उहाँले प्रयोग गर्नु भएको छ । त्यो त उहाँका गुरुबाहरुले पहिलै प्रयोगमा ल्याएका हुन् छ त । त्यही प्रशिक्षण हो,उहाँको पनि ।अहिले हामीले आफ्नो अधिकारको विषयमा बोलेका हौँ । त्यो पनि आफ्नो ड्युटी पुरा गरेर । ड्युटी टाइम सकिएपछि हामी शान्तिपूर्ण विरोध गछौँ । हाम्रो विषयमा औँला उठाउनु पर्ने कुरा नै छैन । अधिकारका विषयमा लड्दा किन विरोध ।

६. तपाईहरुको विरोधको मुख्य माग के हो ?

अहिले अध्यादेश मार्फत जुन संशोधन ल्याउन खोजिएको छ, स्वास्थ्यकर्मी सुरक्षा र स्वास्थ्य संस्था सुरक्षाका लागि । त्यसको लागि हामीले हेल्थ प्रोटेक्सन एड को माग गरेका छौँ । जसले गर्दा स्वास्थ्यकर्मी माथि जघन्य अपराध गर्नेहरुलाई कडा कारबाहीको हामीले माग गरेका छौँ । घटना घट्दैन भन्न पनि सकिदैन नी । घटना त घट्ला । तर यस्ता कुराले अपराधिक मानसिकता त कम हुन्छ । त्यो भयो भने हाम्रो सुरक्षा हुन्छ । त्यो भयो भने स्वाथ्यकर्मीहरुले भय रहित वातावरणमा काम गर्न पाउँछन् । हाम्रो त कानुनमा जे प्रावधान छ । सोही अनुसार कारबाही हुनुपर्छ भन्ने हो । कानुन अनुसार कारबाही होस । दोषीलाई उन्मुक्ति नहोस भन्ने नै हो ।

७. अन्त्यमा, कोरोना महामारीको समयमा राज्यबाट कस्तो सहयोग प्राप्त गर्नु भएको छ नी ?

राज्यसँग भएको साधन स्रोत प्रयोग गरिरहेको छ । सोही अनुसार हामी पनि सेवा पाइरहेका छौँ ।अहिले अस्पतालहरुमा जनशक्तिको कमि खट्कियो । यसमा राज्यले ध्यान दिनुपर्ने देखिएको छ । स्वास्थ्य जनशक्ति उत्पादन गर्नुपर्छ । स्वास्थ्यकर्मीहरुलाई सेवा दिन ढिलासुस्ती भइरहेको छ । म यो भन्दिन की राज्य गरेको छैन । पटक्कै नगरेको पनि होइन । आउने दिनमा तयारी राम्रो होस । हामीलाई दिने भनिएको सेवा सुविधा समय मै पाइयोस । महामारीसँग लड्ने वातावरण सरकारले बनाउनुपर्र्छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८     7:50:08 AM  |