30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

लयमा फर्किन खोज्दै बाँके

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८  

कृष्ण ओली । कोहलपुर ।

चैत्रको तेस्रो साताबाट नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा विरामीहरुको संख्या बढ्दै जान थाल्यो । गतवर्ष कोरोनाको पहिलो लहरका बेला भन्दा कडा लक्षण भएका संक्रमित विरामीले बैशाखको सुरुतिर कोभिड वार्ड भरियो । त्यतीबेला छिमेकी मुलुक भारतका विभिन्न प्रदेशमा तिव्र रुपमा रुपमा कोरोनाको दोस्रो चरण फैलिरहेको थियो । बैशाख पहिलो हप्तासम्म त भेरी अस्पतालमा गम्भीर खालका कोरोना संक्रमितले बेड पाउन समेत पालो कुर्नुपर्ने अवस्था आयो ।

नयाँ वर्ष सुरु हुँदासम्म समेत कसैले कोरोना संक्रमणका कारण यती धेरै क्षती व्यहोर्नुपर्ला भन्ने समेत सोचेका थिएनन् । चैत्रको अन्तिम साताबाट नै स्कुल लगायत धेरै भिडभाड हुने क्षेत्र बन्द गराउनुपर्ने चिकित्सकले दिएको सुझाव समेत कसैले मानेनन् । बरु स्थानीय प्रशासनले नेपालगञ्जमा मेला महोत्सव गर्न अनुमती दियो । राजनीतिक दलहरुले सभा सम्मेलनहरु गरे । बैशाख पहिलो हप्ताबाट बाँकेमा कोरोना नियन्त्रणबाहिर गयो । अस्पतालमा गम्भीर खालमा संक्रमितले बेड नपाउँने अवस्था आयो ।

भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत विरामी

प्रयोगशालामा पीसीआर परीक्षणको रिपोर्ट आउन एक सातासम्म लाग्न थाल्यो । अस्पतालमा सामान्य अक्सिजनसहितका बेड विरामीले पाउँन छोडे । पहिलो लहरमा अधिकांश जेष्ठ नागरिक र दीर्घरोगीहरुलाई समस्या पारेको कोरोनाले दोस्रो लहरमा भर्खरका जवानलाई समेत छोडेन । कडा लक्षणसहितका कोरोना पुष्टि हुनेहरुमा युवाहरुको संख्या समेत बढ्न थाल्यो । बैशाखको मध्यसम्म पुग्दा त अस्पताल उपचाररत संक्रमित युवाहरु समेत धमाधम मर्न थाले ।

त्यसपछि त मानिसहरुलाई त्रास मात्र छाउने होइन दैनिक जिवनलाई समेत जेठको पहिलो सातासम्म प्रभावित बनायो । जिल्लाका सबैजसो अस्पतालहरुमा कोरोनाका विरामीहरु उपचार गर्नको लागि व्यवस्था मिलाइयो । स्थानीय तहहरुले समेत अस्थायी कोभिड अस्पतालमा बनाएर उपचार थाले । कोभिड संक्रमणले एकै महिनामा जिल्लामा ठूलो क्षति पु¥यायो । बैशाख महिनामा मात्र बाँकेमा २४२ जनाले ज्यान गुमाए भने करिब १० हजार बढीमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमणकै कारण ज्यान गुमाएका २४२ जना मध्ये बाँके जिल्लाका मात्रै १६७ जना हुन् । नेपालमा कोरोनाको दोस्रो लहरले सबैभन्दा पहिला धेरै आक्रान्त भएको बाँके अहिले भने विस्तारै पुरानै लयमा फर्किन खोज्दैछ । जिल्लामा कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या बढिरहदाँ पछिल्ला दिनमा नयाँ थपिने संक्रमितको संख्या एक अंकमा झरिसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ समेत बाँके आफ्नो लयमा फर्किन खोजिरहेको बताउँछन् । ‘गत चैत्रको पहिलो हप्तातिर नयाँ थपिने दर करिब शून्यमा झरिसकेको थियो’ उनले भने, ‘चैत्र अन्तिममा एकाएक संक्रमण दर उकालो लाग्न थाल्यो ।

बैशाखको मध्यतिर आउँदा त पोजिटिभ केश नै ७०÷८० प्रतिशतसम्म समेत देखियो ।’ अहिले भेरी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउनेहरुको संख्या समेत ५÷६ गुणाले घटेको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले अस्पतालमा अहिले पहिलेजस्तै विरामीको चाप नभएको बताए । ‘भेरीमा पहिलेजस्तै अहिले संक्रमित विरामीहरुको चाप छैन’ उनले भने, ‘तर पनि गम्भीर संक्रमितको उपचार भने भइरहेको छ । पहिलेजस्तै बेड नपाउने अवस्था भने छैन ।’ बाँके पुरानै अवस्थामा फर्किन भने नसकेपनि त्यो प्रयासमा रहेको जस्तो देखिएको डा. पाण्डे बताउँछन् ।

‘जिल्लामा नयाँ थपिने संक्रमितको संख्या समेत एकदमै कम छ । अस्पतालमा भर्ना हुने विरामीको संख्या समेत कम देखिन्छ’ उनले भने । यही अवस्था रहे केही सातामा बाँके पुरानै अवस्थामा फर्किने उनको भनाई रहेको थियो । ‘अहिले गम्भीर खालमा संक्रमितहरु अस्पताल आइरहेकोले पनि मृत्युदर बढेको नघटेको देखिन्छ’ उनले भने, ‘मृत्यु हुनेको संख्या बाँके भन्दा पनि बाहिरी जिल्लाबाट रिफर भएर आएकाहरु बढी रहेको छ ।’ अहिले जिल्लाका अस्पतालहरुले कोरोना संक्रमित उपचारका लागि छुट्याएका बेडहरु समेत खाली हुन थालिसकेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८     7:46:25 AM  |