19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

एमालेले सोध्यो सुदूरपश्चिमका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी आफ्ना ३ मन्त्रीलाई छुट्टाछुट्टै स्पष्टीकरण सोधेको छ।

पार्टी केन्द्रको निर्देशनविपरीत निर्णय गरेको भन्दै तीनै मन्त्रीलाई एमाले सुदूरपश्चिमले छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो। २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न प्रदेश कमिटिले निर्देशित गरेको छ।

प्रदेश सरकारमा सहभागी तीनजना मन्त्रीलाई एमाले सुदूरपश्चिमले २४ घण्टे स्पष्टीकरण सोधेको प्रदेश कमिटी सचिव राजेन्द्र रावलले थाहाखबरलाई जानकारी दिए।

उनले भने, ‘पार्टी एकताको विरुद्ध, बिखन्डनको प्रक्षेपण हुने गरि गरिएको निर्णय अमान्य हुने भएकाले स्पष्टीकरण सोधिएको हो। २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन भनेका छौँ।उपयुक्त जवाफ आउला, नआए पार्टीको निर्णय अनुसार कारबाही गरिन्छ।‘

सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधिएको एमाले सुदूरपश्चिमले जनाएको छ।

एमाले सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो। केन्द्रको स्थायी समितिको निर्णयलाई चुनौती दिँदै प्रदेशको संसदीय दलको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेको हो।

सुदूरपश्चिम एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत छ भने अहिले स्पष्टीकरण सोधिएका तीनै जना मन्त्री माधव नेपाल पक्षीय हुन्। संसदीय दलको निर्णयलाई ओली पक्षका प्रदेश सभा सदस्यहरुले भने नमान्ने बताइसकेका छन्।

सुदूरपश्चिम प्रदेश सभामा सभामुख सहित एमालेका २५ जना सदस्य छन्। उनीहरुमध्ये वरिष्ठ नेता माधव नेपाल पक्षका १८ र ओली पक्षका ६ जना छन्।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     4:27:12 PM  |