29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

काठमाडौं उपत्यकामा एकसाता थपियो निषेधाज्ञाः खाद्यान्न र तरकारी पसल पनि बन्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

काठमाडौं ।

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्नका पसल र तरकारी पसल एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ ।

‘‘उपत्यकावासीले एक हप्ताका लागि खाद्यन्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ । त्यस्तै तरकारीको पसल पनि खोल्न पाइनेछैन,” प्रजिअ पराजुलीले भने, ‘‘खाद्यन्न पसल र तरकारी पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौँ । त्यसैले कडाइका साथ सबै अत्यावश्यक खाद्यन्न तथा तरकारी पसल सबै बन्द हुनेछन् ।”

प्रजिअ पराजुलीले एकसाताको निषेधाज्ञामा खाद्यान्न पसल र तरकारी पसल सबै बन्द गरेर छिट्टै काठमाडौं उपत्यकावासीलाई सहज जीवनशैलीमा फर्काउन यस्तो निर्णय गरेको जानकारी दिए । यसबाहेक सवारी साधनको हकमा पनि कडाइ गरिनेछ । बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिनेछ ।

काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते सकिदैछ । निषेधाज्ञाको समयमा पनि मानिसको आवतजावत र भिडभाड कम नभएको भन्दै अब थपिएको एक साताको निषेधाज्ञा भने थप कडाइ गरिने तीन वटै प्रमुख जिल्ला अधिकारीको निर्णय रहेको छ ।

देशभर दैनिक ८ हजार भन्दा बढि संक्रमित भइरहेका छन् । यसैबीच काठमाडौं उपत्यकामा दैनिक २५ सय भन्दा बढि संक्रमित थपिएका छन् । नेपाल सरकारद्धारा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी अध्यादेश जारी भएको छ । अध्यादेश बमोजिम संक्रामक रोग नियन्त्रणमा चालिएका प्रयासहरूलाई थप कडा गरिने छ ।

पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि निषेधाज्ञाको खुकुलो भएकै कारण निषेधाज्ञामा पनि संक्रमण नरोकिएको भन्दै सूचना जारी गरेको थियो ।

अबको एकसातासम्मका लागि उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले खाद्यान्न तरकारी पुग्ने गरी किनेर राख्न सबैमा अपिल गरेको छ ।

अहिले बिहान ७ देखि १० बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न र किनबेच गर्न दिइएको छ । अनुगमन र कारबाहीको दायरालाई पनि बढाइने भएको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     5:16:09 PM  |