काठमाडौं ।
नेकपा (एमाले) को असन्तुष्ट पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएको छ।
एमालेले झलनाथ खनाल र माधव नेपाल समूहका नेताहरुले ओलीलाई स्पष्टीकरण नबुझाउने भएका हुन्। विपक्षी गठबन्धनमा सहभागी भएको भन्दै ओलीले पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नेता भीम रावललगायत ११ जना सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन शनिबार पत्र पठाएका थिए।
आफ्नो पार्टीको अध्यक्ष, दलको नेता, र प्रधानमन्त्रीलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलहरुसँग मिलेको, विरोधीसँग मिलेर हस्ताक्षर गरेको र सरकार गिराउने गतिविधिमा संलग्न भएको भन्दै ओली पक्षले पार्टीका वरिष्ठ नेता नेपाल र खनाल, नेताहरु भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरुलाई स्पष्टीकरण सोधेको थियो।
पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको नेता रावलले बताएका छन्।
यसअघि भने ओलीले स्पष्टीकरण सोध्दा तोकिएकै समयमा असन्तुष्ट नेताहरुले स्पष्टीकरण बुझाउँदै आएका थिए।
गएको वैशाख २७ गते प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापा बादललाई मतदान नगर्नुका कारण, र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न सोधिएको थियो।









प्रतिक्रिया दिनुहोस्