9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

सरकारले शपथको ब्यहोरामा ‘प्रतिज्ञा गर्छु’ शब्द हटायो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ८, २०७८  

काठमाण्डाै ।

सार्वजनिक पद तथा गोपनीयताको शपथ लिँदाको ब्यहोरामा यसअघि कायम रहेको ‘प्रतिज्ञा गर्छु’ शब्द हटाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य भन्न अस्वीकार गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ उच्चारण गर्न लगाए पनि ओलीले ‘त्यो पर्दैन’ भन्नुभएको थियो । त्यसको एक हप्तापछि बिहीवारको मन्त्रिपरिषद् बैठकले शपथसम्बन्धी अध्यादेश स्वीकृत गरी राष्ट्रपति कार्यालय पठाएको थियो।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम ‘शपथ सम्बन्धी अध्यादेश-२०७८’ जारी भएपछि यसअघि ग्रहण गरिएका शपथको ब्यहोरा यसै बमोजिम भएका मानिने उल्लेख छ ।

यसअघिको शपथको ब्यहोरामा ‘सम्बन्धित पदको कामकाज प्रचलित कानुनको अधीनमा रही’ भन्ने थियो । नयाँ अध्यादेशमा ‘अधीनमा रही’ भने शब्द हटाएर ‘प्रचलित कानुनको पालना गरी’ भन्ने वाक्य थपिएको छ । त्यस्तै ‘मुलुक र जनताको सोझो चिताइ’ भन्ने वाक्य हटाएर ‘मुलुक र जनताको भलो चिताइ’ भन्ने थपिएको छ ।

शुक्रवार राजपत्रमा प्रकाशित अध्यादेश अनुसार शपथ लिँदा र गराउँदा नेपाली भाषाका अलावा मातृभाषामा पनि लिन पाइनेछ । शपथ लिन र गराउन औपचारिक पोसाक अनिवार्य गरिएको छ । तर, संस्कृति, परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोसाकमा पनि शपथ लिन सकिने उल्लेख छ ।

 

प्रकाशित मितिः शनिबार, जेष्ठ ८, २०७८     9:23:20 AM  |