काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण हुनुपर्ने र सांसद नभएका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा परेका रिटसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा हुने भएको छ । मंगलबार पेशी तोकिएका रिट निवेदन प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएका छन् ।
त्यस्तै सांसद नरहेका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने पनि रिट निवेदनमा माग गरिएको छ । गैरसांसदका रूपमा एकपटक मात्रै मन्त्री हुन पाउने भए पनि प्रधानमन्त्री ओलीले सात जना गैरसांसदलाई दोहोर्याएर मन्त्री बनाएको भन्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित रिट परेका थिए ।
गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री मन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई पदमुक्त गर्न माग गरिएको छ ।
अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र ओली, अधिवक्ता सन्तोष भण्डारी, अधिवक्ता नवराज अधिकारी र अधिवक्ता राजकुमार सुवालको रिट निवेदनमाथि मंगलबार सुनुवाइ हुन लागेको हो । -: कान्तिपुर…