19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

नेपालमा कोरोनाको नयाँ रेकर्ड: थपिए ९०७० संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख २४, २०७८  

कोहलपुर ।

नेपालमा देशभर पछिल्लो २४ घण्टा बिहीबार ९ हजार ७० जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा २० हजार ३ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ९ सय ७० र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो नेपालमा २४ घण्टामा संक्रमण देखिएको सबैभन्दा बढी संख्या हो । मन्त्रालयका अनुसार २४ घण्टामा थप ५४ जनाको मृत्यु भएको थियो ।

योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ । यो अवधिमा २ हजार ७ सय ७ जनाले कोरोनालाई जितेको मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको छ ।

यस्तै सरकारले कोरोना संक्रमिको उपचारका लागि झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाएको छ ।

गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, १९ हजार ८८२ बेड, १७ सय १४ आईसीयू र ६९२ भेन्टिलेटर रहेको छ ।

त्यस्तै ३१ अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएको र ती अक्सिजन प्लान्टबाट दैनिक २५ सय ४९ सिलिन्डर भर्न सकिने अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उधृत गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

तीनवटा अस्पतालमा तरल अक्सिजन भर्न सकिने ट्यांक उपलब्ध भएको, स्वास्थ्य संस्थाहरुमा सेवा लिनका लागि प्रयोग भइरहेको अक्सिजन सिलिन्डरको संख्या छ हजार २८८ रहेको र सामान्यतया दैनिक रुपमा अक्सिजन अपत १४११.५ लिटर रहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २४, २०७८     10:19:23 AM  |