15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

बढ्यो कोइलाबासमा चहलपहल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १९, २०७७  

शिवु खनाल । दाङ ।

दाङको लमही–कोइलाबास हुलाकी सडक खण्ड कालोपत्रे भएपछि कोइलाबास नाकामा चहलपहल बढेको छ ।

सडक पहुँच बढ्दै गएपछि कोइलाबास नाकामा चहलपहल बढ्दै जान थालेको हो । पक्की सडक पुगेसँगै स्थानीयले उत्पादन गरेका कृषि उत्पादन घरैबाट बिक्री हुन थालेका छन् । कतिपयले सडक किनारमा व्यापार व्यवसाय समेत सुरु गरेका छन् ।

लमही कोइलाबास हुलाकी राजमार्ग कालोपत्रे भएपछि स्थानीयको आम्दानीको स्रोत बढिरहेको स्थानीय खालीक सिद्दिकिले बताए । ‘सडक छेउका स्थानीयहरुले व्यवसाय गर्न थालेका छन्’ उनले भने, ‘जसले गर्दा उनीहरूलाई आत्मनिर्भर बनाएको छ ।’

सडक नपुग्दासम्म सुनसान देखिने कोइलाबास नाकामा अहिले व्यापारिक चहलपहल बढेको छ । लमही कोइलाबास सडक सञ्चालनमा आएसँगै भारतसँग जोडिएको कोइलाबास नाका क्षेत्रमा चहलपहल बढेको स्थानीय मनमाया गुरुङले बताइन् ।

हुलाकी सडकको उद्घाटन

लमही कोइलाबास हुलाकी राजमार्गको बुधबार उद्घाटन गरिएको छ । भारतसँग जोडिएको कोइलाबासमा एक कार्यक्रमको आयोजना गरेर गढवा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सद्दाम सिद्दिकिले उद्घाटन गरेका हुन् । उनले बाबु बाजेले नुन लिनका लागि प्रयोग गरेको गोरेटो बाटो अहिले कालोपत्रे हुनु निकै खुशीको कुरा भएको बताए ।

‘सडक खुलेको केही समयमै विभिन्न स्थानमा बजार फस्टाउन थालेको छ’ उनले भने, ‘कोइलाबास नाकामा होटेल तथा साना रेस्टुरेन्टहरू खुल्दै जान थालेका छन् । अब विस्तारै कोइलाबासको रुप फेरिदैछ ।’

सन् २०१७ बाट निर्माण कार्य शुरु भएर सन् २०१९ डिसेम्बरमा काम सम्पन्न हुनु पर्ने भएपनि विविध कारणले निर्धारित समय भन्दा पाँच महिनापछी मात्र हुलाकी राजमार्गको काम सम्पन्न भएको थियो ।

कोइलाबासदेखि गढवा बजारसम्मको क्षेत्रमा तोकिएको मापदण्डमा सडक निर्माण भएको छ । लमही क्षेत्रमा भने मापदण्ड बमोजिम काम हुन नसकेको हुलाकी आयोजनाले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र १९, २०७७     2:08:26 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *