संविधानविद्हरूले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको बताएका छन्। प्रधानमन्त्रीको यो कदम संवैधानिक र राजनीतिक रूपमा गलत भएको उनीहरूको भनाइ छ।
आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को उक्त निर्णयपछि संविधानविद् टीकाराम भट्टराईले प्रधानमन्त्री ओलीले संविधानमाथि ठाडो प्रहार गरेको बताए।
‘संसद विघटनको सिफारिस कहीँकतै छैन। यो संविधान माथिको ठाडो प्रहार हो। गणतन्त्रलाई निस्तेज बनाउने चाल हो,’ उनले भने,’यो प्रकियालाई राज्यका सबै संवैधानिक अंगहरूले निस्तेज बनाएर संविधानको रक्षा गर्नुपर्छ।’
संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्रीको कदमलाई संविधानमाथिको कू भनेका छन्।
‘ओलीले संवैधानिक राजनीतिक व्यवस्थालाई अन्त्य गर्न खोज्या देखियो। यो अनिष्ट जस्तो लाग्छ,संवैधानिक र राजनीतिक व्यवस्थाका लागि,’ उनले भने, ‘संविधानले यो अपेक्षा गरेको छैन। ओलीले जे गरे त्यो सम्पूर्ण रूपमा असंवैधानिक कदम हो।यो संविधान माथिकै कू हो।’
सरकारले अविश्वासको मत पाएर अर्को सरकार बन्न सकेन भनेमात्रै विघटन हुन सक्ने उनले बताए।









प्रतिक्रिया दिनुहोस्