25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे बिहे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २६, २०७७  

काठमाण्डौं ।

कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार विवाह भएको छ ।

सम्भवतः नेपालमा पहिलोपटक बहालवाला गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह भएको हो । शुक्रबार हेम्जास्थित गुम्बामा विवाह भएको छ । सो गुम्बामा भएको विवाह समारोहमा प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ थिए ।

मुख्यमन्त्री गुरुङले विवाहित अध्यक्ष र उपाध्यक्षलाई टीका लगाइदिँदै बधाई र शुभकामना दिए । मुख्यमन्त्री र गाउँपालिका अध्यक्ष नाताले सोल्टी-सोल्टी हुन् ।

विवाहमा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ लगायतका मन्त्री, नेताहरु उपस्थित छन् ।

विवाह कार्यक्रममा आफ्नो विवाहबारे अध्यक्ष कर्णबहादुरले भने, ‘शर्मिलाजी र म बीच विवाह गर्ने विषयमा सहमति भयो । परिवारको पनि स्वीकृतिमा मागी विवाह गरेका हौं ।’

कोरोनाका कारण सबैलाई आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको उनले बताए ।

कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।

 

प्रकाशित मितिः शुक्रबार, मंसिर २६, २०७७     2:48:59 PM  |