कोहलपुर ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाई टीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा उत्तम भएको जनाएको छ ।
मंसिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु हुन्छ ।
त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।
अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ ।
औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ । गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ ।
आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ । म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।
सार्वजनिक बिदा
तिहारमा तिथि विवादसँगै मंसिर २ गते भाइपूजा मनाउने केही नेवाः अभियन्ताहरूको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको छ । सोमबार उक्त निर्णय मन्त्रिपरिषद्को बैठकबाट भएको हो ।
नेवाः अभियन्ताहरूले मंसिर २ गते आफूले भाइपूजा मनाउने भएको बताउँदै उक्त दिन पनि सार्वजनिक बिदाको माग गर्दै एक मन्त्रीमार्फत् प्रस्ताव लगेका थिए ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष कार्तिक २९ गते शनिबार लक्ष्मीपूजा, कार्तिक ३० गते आइतबार गाईगोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते सोमबार गोवद्र्धन पूजा तथा भाइपूजा तोकेको छ । तर केही नेवाः समुदायले भने कार्तिक २९ गते शनिबार नरक चतुर्दशीकै दिनमा लक्ष्मीपूजा गर्न नहुने र कार्तिक ३० गते सूर्योदयमा औँशी भएकै राति लक्ष्मीपूजा गर्ने परम्पराअनुसार तिहार मनाउँदै छन् ।
यसअनुसार मंसिर १ गते सोमबार नेपाल संवत् नयाँ वर्ष (न्हुदँ)कै पहिलो दिन पारेर म्हपूजा र मंसिर २ गते मङ्गलबार भाइपूजा गर्दै छन् । रात्रिमा शुद्ध औँशी काल भएको समयमा लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यताअनुरूप नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंसिर २९ गते शनिबार लक्ष्मीपूजा तोकेको हो ।
शनिबार दिउँसो १ः४९ बजेदेखि आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि रहने भएकोले सो तिथि रहेको राति नै लक्ष्मीपूजा गर्ने समितिको निर्णय थियो ।
तर केही नेवाः समुदायले परम्पराअनुसार तिथि छाड्ने समयमा मात्र पर्वपूजा मनाउने एवं कुकुर तिहार र नरक चतुर्दशीकै दिन लक्ष्मी भित्र्याउन नहुने भनी भोलिपल्ट कार्तिक ३० गते आइतबार लक्ष्मीपूजा मनाउँदै छन् । यससँगै नेपाल संवत् सुरु हुने दिन नै म्हपूजा गर्ने परम्परा नेवाः समुदायमा पाइन्छ ।









प्रतिक्रिया दिनुहोस्