28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

मनोजलाई पूर्व पत्नी मीनाको पत्रः ‘छिट्टै निको भएर घर फर्क’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक २२, २०७७  

काठमाडौं ।

वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल र पत्नी मीनाबीच सम्बन्ध विच्छेद भएको लामो समय भइसकेको छ । उनीहरुबीच यसबीचमा बोलचाल र आवतजावतसमेत बन्द छ ।

लामो समयको सम्बन्ध टुटेपछि अलग्गिएका यी जोडी यसबीचमा एक्ला एक्लै जीवन यात्रामा अघि बढेका छन् । मीना सामाजिक सञ्जालमा अनेक टिप्पणीसहित आइरहन्छिन् ।

उनी कहिले गीत गाउँछिन् त कहिले अन्य सामाग्रीसहित देखिइरहन्छिन् । उता मनोजले पनि आफ्नो कला यात्रालाई रोकेका थिएनन् । उनी निरन्तर हाँस्य व्यंग्यको क्षेत्रमा साधनारत छन् देश तथा विदेशका अन्य व्यक्तिको अनेक रुप धारण गर्दै ।

यी कलाका पारखी मनोजलाई यहीबीचमा विश्वभर महामारीको रुप लिएको कोरोनाले भेट्टायो । कात्तिक १० मा कोरोना पुष्टि भएपछि घरमै आराम गरिरहेका उनको स्वास्थ्यमा खराबी आएपछि अहिले सशस्त्र प्रहरीको बलम्बुस्थित कोरोना अस्पतालमा उपचाररत छन् उनी ।

कोरोनाको गम्भीर लक्षण देखिएर फोक्सोमा समस्या आएपछि उनलाई घरबाट अहिले सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको छ ।

शरीरमा अक्सिजन कम भएर फोक्सोमा समस्या देखिएपछि मनोज बलम्बुस्थित शसस्त्र प्रहरीको अस्पताको आइसियुमा उपचाररत छन् । यहीबीचमा सर्वसाधारणदेखि नेता तथा अन्य सेलिब्रिटीले पनि उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । उनै मनोजको स्वास्थ्य लाभको कामना गर्नेमध्ये एक हुन् पूर्व पत्नी मीना ढकाल ।

सम्बन्ध टुटिसके पनि वर्षौँसम्म अर्धाङ्गिनीका रुपमा साथ दिएकी मीनाले मनोजको स्वास्थ्य लाभको कामना गर्दै शुक्रबार अपरान्ह भावुक स्टाटस लेखेकी छन् फेसबुकमा । जहाँ उनले पूर्वपति मनोजको स्वास्थ्यलाभको कामना मात्रै गरेकी छैनन् कागजमा सम्बन्ध टुटे पनि मनमा माया जीवितै रहिरहन्छ भन्ने पनि दर्शाएकी छन् ।

उनले मनोजको स्वास्थ्यलाभको कामना गर्दै आफ्नै जन्मदातालाई भन्दा धेरै माया दिएको स्मरण गरेकी छन् । मीनाले परम्परा अनुसार मनोजको सिन्दूरको ऋणि भएर सिंगो जीवन अर्पिएको बताउँदै जति मनमुटाव भए पनि मनोज सिकिस्त भएको खबर सुनेर आफूले सहनै नसकेको उल्लेख गरेकी छन् ।

‘जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भए पनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ’, उनले भावुक शब्दसहित भनेकी छन्, ‘तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग मैले जीवनका बीसौँ वर्ष पार गरेकी छु ।

तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।’

उनले २० औँ वर्ष सँगै रहेर पनि समयले दुईजनाबीच दूरी ल्याएको प्रसंग ल्याउँदै फेरि पनि मनोजको उपचार आइसियुमा भइरहेको खबरलाई आफूलाई विक्षिप्त बनाएको भनेकी छन् ।

‘भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरि पनि मेरा दुई सन्तानको जन्मदाताका रुपमा आज पनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु’, मीनाले अगाडि भनेकी छन्, ‘आज तिमी आईसीयुमा उपचाररत छौ भन्ने समाचारले मलाई विÞक्षिप्त बनायो । जतिसुकै मनमुटाव भए पनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु, आज महसुस भइरहेछ ।’ मीनाले मनोजलाई चाँडै निको होस् भनेर भगवानसँग प्रार्थना गरिरहेको पनि बताइएकी छन् ।

‘म तिम्रो सुस्वास्थ्यको लागि भगवानसँग प्रार्थना गर्दछु । तिम्रो जीवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन् । तिमी ठीक छौ र त उनीहरु ढुक्क छन्, सुरक्षित छन’, उनले भनेकी छन्, ‘छुट्टै भए पनि, टाढै भए पनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन्, म यो रियलाइज गरिरहेछु ।’ मनोज चाँडै निको भएर अस्पतालबाट घर फर्किने पनि मीनाको विश्वास छ ।

’मेरो प्रार्थना सुन्छन् भगवानले, तिमी छिट्टै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु’, उनले भनेकी छन्,’ मनोज गजुरेल, तिमी छिट्टै हार मान्ने मान्छे होइनौँ–मैले बीसौँ तीजका निराहार ब्रत बसेकी छु तिम्रो लागि। आज पनि तिम्रो दीर्घायुको कामना गर्न छोडेकी छैन ।’

छोराछोरी घरमा प्रतीक्षारत रहेकाले मनोजलाई घर फर्किएको देख्न पाऊँ भनेकी छन् ।’ छोराछोरी तिम्रो प्रतीक्षामा छन्…। तिमी र म बीच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरो लागि महत्वपुर्ण छ– हार नमानिदेऊ’, उनले अन्तिममा भनेकी छन्, ‘छिट्टै ‘रिकभर’ भएर घर पुगेको देख्न पाऊँ ! उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गिनी !’

प्रकाशित मितिः शनिबार, कार्तिक २२, २०७७     11:48:51 AM  |