कैलालीमा प्रहरीका असई मृत फेला, जवान बेपत्ताः तस्करहरुको भिडन्तमा मारिएको आशंका



कैलाली :

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन्।

हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्दबहादुर साउँदको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो। उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन्।

चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजे देखि सम्पर्कविहीन भएका थिए। आज बिहान उनीहरूको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरू चढेको मोटरसाइकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले तस्करहरूसँगको भीडन्तमा उनीहरू मारिएको हुन सक्ने आशंका गरेको छ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २ गते आइतबार