धनगढीमा आईसियुमा राखेर उपचार गराईरहेका भारतीय नागरिकको मृत्यु भएको छ। धनगढी स्थित माया मेट्रो अस्पतालको सघन उपचार कक्ष (आईसियु) मा उपचार गराईरहेका भारतीय नागरिकको आज बिहान मृत्यु भएको हो।
माया मेट्रो अस्पतालले कञ्चनपुरकोे झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती भारतीयको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ। अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बीहिबार आईसियुमा राखिएका उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको बताए।
उनलाई कम्पनीका सञ्चालक चुडामणी जोशीले नै बीहिबार राती माया मेट्रो अस्पताल पुगाएका थिए। अस्पतालले उच्च ज्वरो, निमोनिया र सुगरको समस्या देखिएका कारण उनलाई आईसियुमा भर्ना गरिएको जनाएको छ।
आरसिटी एग्रो मेसिनरी कम्पनीका सञ्चालक जोशीले उनी बिरामी परेपछि बुधबार झलारीको एक क्लीनीकमा समान्य परिक्षणपछि सेती अस्पताल ल्याईएको बताए। एक दिन सम्म सेती अस्पतालमै भर्ना गराएका उनको अवस्था गम्भीर भएपछि चिकित्सकहरुले आईसियुमा राख्नुपर्ने सुझाएका थिए।
तर सेतीमा आईसियु खाली नरहेकाले अन्यत्र लैजान भनेपछि जोशीले नै बिरामीलाई माया मेट्रो अस्पताल पुगाएका थिए। यसैबिच मृतकमा कोरोना भाईरसकै जस्तै लक्षण देखिएका कारण उनको थ्रोट स्वाब संकलन गरी परिक्षण गरिने माया मेट्रो अस्पतालले जनाएको छ।
उनको स्वाब संकलनका लागि सेती अस्पतालबाट स्वास्थ्यकर्मी पुगिसकेको अस्पतालका अध्यक्ष साउँदले बताए। अहिले मृतकको शव आईसियुमै छ।
www.dineshkhabar.com










प्रतिक्रिया दिनुहोस्