धनगढीका कोरोना संक्रमितः काठमाडौं–नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए



धनगढी

धनगढीका कोरोना संक्रमित पुरुष चैत ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएको खुलेको छ। उनी युएईको दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौँ पुगेका थिए। २१ मार्च अर्थात चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै नेपालगञ्जबाट धनगढी पुगेका थिए।

उनी बुद्ध एयरको विमानबाट नेपालगञ्ज पुगेका थिए। उक्त कुराको बुद्ध एयर नेपालगञ्जका ईन्चार्ज दिनेश साहले पुष्टि गरे। ८ गते धनगढी पुगेका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए।

सोही दिनदेखि उनी सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका थिए। आईसोलेसनमा राखिएपछि उनको थ्रोट स्वावको नमूना परीक्षणका लागि काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो।

उनीमा कोरोना संक्रमणको पुष्टि आज मात्रै भएको हो।

काठमाडौँ नेपालगञ्ज हवाई यात्रा र त्यसपछि नेपालगञ्ज धनगढीसम्म बसको यात्रा गरेका कारण उनीबाट अरु धेरै व्यक्तिमा पनि कोरोनाको संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ।

सेती प्रादेशिक अस्पतालले कोरोनाको संक्रमण पुष्टि भएका युवकको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसअघि नेपालमा तीनजनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन्।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १५ गते शनिबार