पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउन माग



काठमाडौँ।

गम्भीर मानवअधिकार उल्लङ्घन गर्ने पीडकलाई सजाय र पीडित हुनेलाई न्याय दिनुपर्ने मानवअधिकारवादीहरूले माग गर्नुभएको छ ।

विश्व शान्ति दिवस तथा नेपालीको महान् पर्व शुभ विजयादशमीलगायत पर्वका अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा पूर्वमन्त्री अम्बिका बस्नेतले मानवअधिकारको रक्षाका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । पीडकलाई आममाफी दिए मानवअधिकार उल्लङ्घनका घटना बढ्दै जाने उहाँको भनाइ थियो ।

समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको ढाँचा आममाफी आयोगको शैलीमा अघि बढ्ने खतरा रहेको चर्चा गर्दै सङ्क्रमणकालीन न्यायको नमूना पीडितमैत्री हुनुपर्ने विचार व्यक्त गर्नुभयो । पीडितलाई न्याय र पीडकलाई सजायको सुनिश्चितता नभए त्यसले समाजमा पार्ने प्रभावका बारेमा बेलैमा सचेत हुन उहाँले सबैमा आह्वान गर्नुभयो ।

कार्यक्रममा समाज काठमाडौँ शाखाका सभापति जगन्नाथ पुडासैनी, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा, समाजका जिल्ला सचिव ईश्वर पुडासैनी, रामचन्द्र भण्डारीलगायतले मानवअधिकारको सम्मान हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा शान्ति समाजका गतिविधिमा विशेष सहयोग गर्नुहुने जयराम पुडासैनी, विमल अर्याल, हरिभक्त पुडासैनी, शिवराम थापा र ईश्वरप्रसाद सापकोटालाई सम्मान गरिएको थियो । -रासस

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ५ गते आइतबार