16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

बाढिपहिराेमा परी कम्तीमा २५ को मृत्यु, १० जना बेपत्ता, हजारौं परिवार विस्थापित (अपडेट)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २८, २०७६  

काठमाडाैं । विहीबारदेखिको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । दुईदिन देखिको लगातार वर्षाका कारण मुलुकभर कम्तीमा २५ जनाको मृत्यु भएको छ । पाँच जना भन्दा बढी बेपत्ता भएका छन् ।

शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३, काभ्रे, झापा, भोजपुर र धादिङमा २/२, इलाम, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, रौतहट, बारा र पर्सामा १/१ जनाको मृत्यु भएको हो ।

रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, झापा, मोरङ र काठमाडौंमा एकएकजना गरी कम्तिमा दश जना बेपत्ता भएका छन्।

राजधानी उपत्यकाका अधिकांश ठाउँमा डुबानमा परेका छन् । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, टुकुचा, मनोहरा, हनुमन्ते, गोदावरीलगायतमा बाढी उर्लेको छ। वर्षाले गर्दा उपत्यकामा ढल फुट्ने समस्या बढेको छ।

खासगरी प्रदेश १, २ र ३ मा मानवीय र भौतिक क्षति बढी भएको छ। कतिपय ठाउँमा राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ।

मृत्यु हुनेहरू

खोटाङमा ३ : खोटेहाङ गाउँपालिका–२ बाप्लुखा बाघपच्याङका विष्णु राईको घर पहिरोले पुर्दा उनकी पत्नी रेखा, छोराहरु ३ वर्षका रोमन र ७ महिनाका रोजनको मृत्यु भएको हो।

काठमाडाैंमा ३ : कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानी बाबाचोकमा पर्खाल भत्किएर टहरोमा पर्दा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएकाे छ ।

भोजपुरमा २ : पहिरोले पुरिएर बासिखोराका ६६ वर्षीय रामप्रसाद राई र टेम्के मैयुङ गाउँपालिकाका १४ वर्षीय जनक विकको मृत्यु भएकाे छ ।

झापामा २ : चुलाचुली गाउँपालिका १ का ५० वर्षीय अञ्चल लावती र दमक नगरपालिका १० स्थित भालु खोलाले बगाएर स्थानीय ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको छ ।

धादिङमा २ : धादिङको गजुरी गाउँपालिका ४ दरिङगाल बालुवाडाँडामा कृष्णबहादुर तामाङको कच्ची घर पहिराले पुर्दा छोरी ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएकाे छ। त्यसैगरी आग्रा खोलाको सहायक थाक्रे–३ स्थित निगाले खोलाले बगाएर स्थानीय गोकुल गिरीको मृत्यु भएको छ ।

ललितपुरमा १ : ललितपुरकोको वाग्मती गाउँपालिका २ बगुवामा पहिरोले घर पुरिँदा ११ वर्षीय शरद जिम्बाको मृत्यु भएकाे छ ।

रामेछापमा १ : रामेछाप नगरपालिका-५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनवारको मृत्यु भएकाे छ ।

पर्सामा १ : पर्साको पर्सागढी नगरपालिका १ सिंग्याही खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु भएकाे छ ।

महाेत्तरीमा १ : महोत्तरीको बलवा नगरपालिका ३ बदियाका ७० वर्षीय हमिद मियाको खोलाले बगाउँदा मृत्यु भएकाे छ ।

सिन्धुलीमा १ : सिन्धुलीको फिक्कल गाउँपालिका-१ महादेवडाडामा पहिरोले बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनवारको मृत्यु भएकाे छ।

मकवानपुरमा १ : मकवानपुरको थाह नगरपालिका ४ की सन्तमाया बलामी खोला तर्ने क्रममा मृत्यु भएकाे छ ।

बारामा १ : बाराको परवानीपुर–१ मा शुक्रबार साँझ नालामा डुबेर स्थानीय अरविन्द यादवका १८ महिने छोरा बिक्कीको मृत्यु भएको छ ।

रुकुम पश्चिममा १ : आठबिसकोट–५ जलिगाडमा पहिरोसँगै खसेको ढुंगाले लागेर १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको छ ।

ओखलढुंगामा १ : ओखलढुंगाको सुनकोसी गाउँपालिका–४ का ५५ वर्षीय कुमार राईको खोलाले बगाएर ज्यान गएको छ ।

मकवानपुरमा १ : प्रहरीका अनुसार मकवानपुरको थाहा नगरपालिका–४ की सन्तमाया बलामीको खोला तर्ने क्रममा मृत्यु भएकाे छ ।

देशैभरी बाढीपहिरोकाे जोखिम कायमै

गृहमन्त्रालयको अनुसार देशैभरी बाढीपहिरो र डुबानको जोखिम रहेको छ । गृहमन्त्रालयले आपत्‌कालीन उद्धारका लागि सरकारी संयन्त्र चुस्त राखेको बताएको छ । पहाडी र हिमाली जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ भने तराई क्षेत्रहरूमा डुवानकाे जाेखिज बढेकाे छ ।

पहाडी र हिमाली भेगका बासिन्दा पहिरोको डरमा छन् । देशैभरका ठूला नदीहरुको बहाव बढ्दै गएको छ । नदी र खोला किनारका बासिन्दामा त्रास फैलिएको छ । राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारीसाधनहरु रोकिएका छन्। काठमाडौंबाट बाहिरिएका र भित्रने सवारीसाधन जाममा फसेका छन् । यात्रुहरु विचल्लीमा परेका छन् ।

सप्तकाेशी नदीमा जलसतह बढेकाे छ । सप्तकोसी नदीकाे चतरामा आज असार २८ गते बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान शाखाले जनाएकाे छ । काेशीमा पानीकाे सतह र चाप बढ्दाे क्रममा रहेकाेले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन अाग्रह गरिएकाे छ ।

यसैगरी बाढी सूचना/पूर्वानुमान शाखाले कमला नदी-धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको जनाएकाे छ ।

प्रकाशित मितिः शनिबार, असार २८, २०७६     10:12:07 AM  |