शुभाकर विश्वकर्मा,कोहलपुर
जुम्लाको गुठिचौर गाँउपालिका २ कि २२ बर्षिया बेलमति ऐडी गत बर्ष डिल्लीचौर स्वास्थ्य चौकीमा प्रसुती हुँदा बच्चा उल्टो निस्कियो । आवश्यक उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावका कारण समयमै शल्यक्रिया नहुँदा बच्चाको निस्सासीएरै मृत्यु भयो । तर गाँउमा बच्चा निस्सासीएर मृत्यु नभई भुतप्रेतले खाएर मरेको हल्ला चल्यो । अहिले पनि उनी आठ महिनाकी गर्भवती हुन् । अहिलेसम्म उनको गर्भको बच्चा र आमाको बास्तविक स्वास्थ्य अवस्थाबारे जानकारी छैन ।
आफन्तको दबाबमा आठ महिनाको गर्भ अवस्थामा मात्रै पहिलो पटक स्वास्थ्य चौकी पुगेकी उनलाई डिल्लीचौर स्वास्थ्य चौकीकी अनमी शोभा खड्काले सुविधायुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर स्वास्थ्य परिक्षण गराउन अनुरोध गरीन् । तर प्रसुती हुने दिन नजिकिँदै गर्दा पनि उक्त अनुरोध उनलाई स्विकार्य छैन । सकभर अस्पताल पुगेर प्रसुती सेवा नै नलिने बेलमतिको सोचाई छ । उनीजस्तै मुडुरीगाँउका गंगा ऐडी लगाएत ८ जना बढि गर्भवती महिलाले एक पटक पनि स्वास्थ्य परिक्षण गराएका छैनन् । स्वास्थ्य चौकी पुगेर नियमित गर्भ जाँच नगराउने र स्वास्थ्य संस्थाबाट प्रसुती सेवा नलिनेको संख्या विशेष गरी गुठिचौर र पातारासी गाँउपालिकामा धेरै छ । यसको मुख्य कारण नै स्वस्थ्य संस्थामा गर्भ जाँच गराउँदा वा प्रसुती हुँदा पेटको बच्चालाई भुतप्रेतले खाएर मर्ने, अपांग हुने जस्ता रुढिबादी अन्धविश्वासको डरत्रास हो । जिल्लाका अधिकांश दुर्गमका स्वास्थ्य संस्थामा नियमित गर्भजाँच वा प्रसुती सेवा लिन नआउनुका कारण स्थानीयको मानसिकतामा परेको भुतप्रेतको त्रास नै छ ।
स्वास्थ्य संस्था जाँदा बाटोमा पर्ने, नदि, खोला, पहाड जस्ता ठाँउहरुमा ठुला ठुला भुतप्रेत हुने र त्यसले गर्भ तुहाई दिने, बच्चा खाने जस्तो अन्धविश्वास जिल्लामा कायम छ । यसले गर्दा अधिकांश गर्भवती महिला स्वास्थ्य परिक्षण तथा प्रसुति सेवा लिन स्वास्थ्य चौकी नजाँदा उनीहरुको ज्यान नै खतरामा पर्दै गएको हो । गज्र्यांकोट स्वास्थ्य चौकी ईन्चार्ज शुस्मा शाहले भुतप्रेतको डरले स्वास्थ्य संस्था नआउने गर्भवतीलाई घरदैलो कार्यक्रम मार्फत जनचेतना बृद्धि गर्न जरुरी रहेको बताईन् । ‘२१ औँ शताब्दिसम्म पनि भुतप्रेतको डरले गर्भवती स्वास्थ्य चौकी नआउनु बिडम्बनाको कुरा हो, तर भनेको नमान्नेलाई कसरी जर्वजस्ती गर्नु’ उनले भनिन् ।
डिल्लीचौर स्वास्थ्य चौकीकी अनमी शोभा खड्काले भुतप्रेतको डरत्रासले स्वास्थ्य संस्था नजाने गर्भवती महिला लक्षित चेतनाबृद्धिका कार्यक्रम संचालन गर्न गाँउपालिकासँग समन्वय गर्ने बताईन् । उनले भनिन्, ‘यस्तो अभियानमा विशेष गरी धामीझाँक्रीको भुमिका हुन्छ, यसलाई हेलचक्राई रुपमा हेर्दा गर्भवतीको ज्यान नै जान सक्छ ।’ उनका अनुसार पहिलो पटक गर्भ जाँच गर्ने संख्याको तुलनामा चौथो पटकसम्म निकै कमी देखिन्छ । भुतप्रेत जस्ता अन्धविश्वास हटाउन, स्वास्थ्य संस्थामा नियमित गर्भजाँच तथा प्रसुती हुनेको संख्या बृद्धि गर्न र आवाश्यक औषधी उपकरण तथा दक्ष स्वास्थ्यकर्मी ब्यवस्थापन गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने उनले बताईन् । स्वास्थ्य चौकी जाँदा भुतप्रेत हुँदैन र नियमित गर्भ जाँच गर्नुपर्छ शन्देस महिला स्वयंमसेविकाहरु भन्दा धामीझाँक्रीले प्रवाह गर्दा परिवर्तन चाँडो हुने देखिन्छ ।